आइतबार सम्पन्न सेमिफाइनलमा कोहलपुर स्पोर्ट्स एकेडेमीलाई हराउँदै यूभीसीसी र ब्राइटल्यान्ड स्कुललाई हराउँदै न्यु होराइजन फाइनल प्रवेश गरेका हुन् ।
What you should know
नेपालगन्ज — क्याम्पा कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा युनाइटेड भिजन क्रिकेट क्लब (यूभीसीसी) र न्यु होराइजन स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेका छन् ।
आइतबार कोहलपुर स्पोर्ट्स एकेडेमीलाई हराउँदै यूभीसीसी र ब्राइटल्यान्ड स्कुललाई हराउँदै न्यु होराइजन फाइनलमा प्रवेश गरेका हुन् । सेमिफाइनलको पहिलो खेलमा कोहलपुर स्पोर्ट्स एकेडेमीले टस जितेर ब्याटिङ रोजेको थियो । एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनाउन सफल भयो ।
टिमका लागि भीम सार्कीले ४२ बलमा सर्वाधिक ७४ रन बनाए भने विपिन रावलले २६ बलमा २० रन र सिद्धार्थराज शाहीले १० बलमा अविजित १४ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ युनाइटेड भिजन क्रिकेट क्लबका लागि आकाश चन्द, दिनेश अधिकारी र सन्तोष यादवले समान ३/३ विकेट लिए भने कमल मुसलमानले एक विकेट लिए ।
कोहलपुर स्पोर्ट्स एकेडेमीले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको युनाइटेड भिजन क्रिकेट क्लबले १७.४ ओभरमा ३ विकेट गुमाउँदै १ सय ७१ रन बनाउँदै सहजै जित निकाल्यो । युनाइटेडका लागि दीपेन्द्र सिंह ऐरीले ४२ बलमा ८३ रन र अर्जुन साउदले ४९ बलमा अविजित ६८ रन बनाए ।
बलिङतर्फ कोहलपुर स्पोर्ट्स एकेडेमीका लागि दिवन पुनले ३ विकेट लिए । अन्य बलरहरू भने यूभीसीसीका ब्याटरसामु कमजोर साबित भए । उक्त खेलमा यूभीसीसीलाई विजयी गराउन महत्त्वपूर्ण ४२ बलमा अविजित ८३ रन बनाएका दीपेन्द्र सिंह ऐरी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
दोस्रो सेमिफाइनलमा ब्राइटल्यान्ड स्कुललाई हराउँदै न्यु होराइजन स्पोर्ट्स क्लब फाइनल प्रवेश गरेको छ । टस जितेर ब्याटिङ रोजेको ब्राइटल्यान्ड स्कुलले १६.५ ओभरमा अलआउट हुँदै १ सय ६ रन मात्रै बनाएको थियो ।
टिमका लागि तुल थापाले २२ बलमा सर्वाधिक ४४ रन बनाए । यस्तै ओपनर विनोद भडारीले १८ बलमा ३० रन र त्रिर्तराज दासले १८ बलमा १३ रन बनाए । अन्य ब्याटरले भने न्यु होराइजनका बलर हाबी हुँदा दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ न्यु होराइजन स्पोर्ट्स क्लबका लागि प्रिन्स पालले ४ ओभरमा ९ रन मात्रै खर्चेर सर्वाधिक ३ विकेट लिए । त्यस्तै कुशल मल्ल, सुरज खड्काले समान २/२ विकेट लिए भने बसिर अहमद र एलिसन अधिकारीले समान १/१ विकेट लिए ।
ब्राइटल्यान्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको न्यु होराइजन क्रिकेट क्लबले ८.२ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य भेट्टायो । अमर मिश्रको आक्रामक ओपनिङ अर्धशतकमा न्यु होराइजनले ब्राटल्यान्डलाई ६ विकेटले हराएको हो ।
अमर मिश्रले २२ बलमा ५७ रन, आरिफ खानले १८ बलमा २६ रन बनाएका थिए । यस्तै कमल विष्टले ४ बलमा ८ रन र दिलसाद अलिले १ बलमा अविजित ४ रन बनाए ।
बलिङतर्फ ब्राइटल्यान्डका अनमिस शाही, सुनिल शाही, युवराज शर्मा र साहव आलमले समान १/१ विकेट लिए । अन्य बलर भने धेरै रन खर्चिए पनि विकेटविहीन भए । न्यु होराइजनलाई विजयी गराउन महत्त्वपूर्ण ३ विकेट लिएका प्रिन्स पाल ‘प्लेयर अफ द म्याच’ भए ।
फाइनल खेल युनाइटेड भिजन क्रिकेट क्लब र न्यु होराइजन स्पोर्ट्स क्बलबीच हुने भएको छ । प्रतियोगिताको विजेता टिमले ४ लाख नगद पुरस्कार र उपविजेताले २ लाख नगद पुरस्कार पाउने छन् ।
