सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि

सन्तोषी श्रेष्ठ र निर्मला केसी पिंक केयराथनमा विजेता बनेका छन् । ओलम्पियन सन्तोषीले २१.१ किलोमिटर हाफ म्याराथन र निर्मलाले १० किलोमिटर दौड जितेकी हुन् ।

फाल्गुन ३०, २०८२

कान्तिपुर संवाददाता

Santoshi and Nirmala win Pink Careathon title

काठमाडौँ — सन्तोषी श्रेष्ठ र निर्मला केसी पिंक केयराथनमा विजेता बनेका छन् । ओलम्पियन सन्तोषीले २१.१ किलोमिटर हाफ म्याराथन र निर्मलाले १० किलोमिटर दौड जितेकी हुन् ।

जावलाखेल फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा सन्तोषीले प्रतिद्वन्द्वीलाई कुनै मौका दिइनन् भने निर्मलाले साँघुरो अन्तरमा सफलता हात पारिन् । धादिङकी धाविका सन्तोषीले १ घन्टा २१ मिनेट ११ सेकेन्डमा दौड पूरा गरिन् । जावलाखेलबाट सुरु भएको दौड पुल्चोक हरिहरभवन, बखुन्डोल, झम्सिखेल, धोवीघाट, बल्खु, कलंकी पुगेर एकान्तकुनमा हुँदै पुनः जावलाखेल मैदानमा आएर टुंगिएको थियो । सन्तोषीले जुम्लाकी राज्यलक्ष्मी रावललाई ७ मिनेटभन्दा बढी समयले पछाडि पारिन् ।

राज्यलक्ष्मीले १ घन्टा २८ मिनेट १ सेकेन्डबाट दोस्रो र त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराई १ घन्टा २९ मिनेट ५९ सेकेन्डबाट तेस्रो भए । एपीएफ क्लबकी सुशीला महत १ घन्टा ३१ मिनेट ०२ सेकेन्डबाट चौथो र गोरखाकी गीता नेपाली १ घन्टा ५१ मिनेट ५४ सेकेन्डबाट पाँचौं भए ।

Santoshi and Nirmala win Pink Careathon title

महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले लेजरपोर्ट नेपालद्वारा आयोजित पिंक केयराथनको हाफ म्याराथनका शीर्ष तीन विजेताले क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ पुरस्कार पाए । १० किमि दौडतर्फ आर्मीकी निर्मलाबाहेक एपीएफकी आशा राउत दोस्रो र पुलिसकी सुमित्रा चौधरी तेस्रो भए ।

निर्मलाले ४० मिनेट ०८ सेकेन्ड, आशाले ४० मिनेट २७ सेकेन्ड र सुमित्राले ४१ मिनेट ५० सेकेन्डमा दौड पूरा गरेका थिए । वर्षा थुमा ५४ मिनेट ४६ सेकेन्डका साथ चौथो, इन्द्रमाया पाख्रिन ५७ मिनेट २४ सेकेन्डका साथ पाँचौं र शितु लामा ५८.५६ सेकेन्डका साथ छैटौं भए । १० किलोमिटरका शीर्ष तीन विजेतालाई क्रमशः ३१, २१ र ११ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यस्तै फन रनको रूपमा रहेको ५ किलोमिटरमा तिलुमाया सुनुवार, रेश्माकुमारी रावल, सीता रिमाल तथा ३ किलोमिटरमा सुप्रिता थापा, गायत्री श्रेष्ठ र सांग्रिला श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । फन रनतर्फ उत्कृष्ट १०–१० जनालाई आकर्षक उपहार प्रदान गरिएको थियो ।

लेजरपोर्टका अध्यक्ष नमराज जोशीका अनुसार झन्डै १ हजार ५ सयको सहभागिता थियो । उनीहरूलाई दौडअघि जुम्बा गराइएको थियो । कार्यक्रममा मुम्बईबाट आएका गायक जनिष्ट जोशीले सांगीतिक प्रस्तुति दिए । सन् २०१७ देखि काठमाडौं पिंकाथनको नामबाट दौड सुरु गरेको प्रतियोगिताको यो छैटौं संस्करण हो । २०१९ सम्ममा गरी लगातार तीन पटक आयोजना भएको यो प्रतियोगिता कोभिडपछि रोकिएको थियो । त्यसयता लगातार आयोजना भइरहेको छ ।

कान्तिपुर

Link copied successfully