नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रमअन्तर्गत आयोजना गरेको फन रन पाटन दरबार स्क्वायरमा एक कार्यक्रमबीच सकिएको छ ।
What you should know
काठमाडौँ — आईची–नागोया एसियाली खेलकुद २०२६ को प्रवर्द्धन तथा सफलताका कामना गर्दै शनिबार ‘एसियन गेम्स फर रन’ भएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रमअन्तर्गत आयोजना गरेको फन रन पाटन दरबार स्क्वायरमा एक कार्यक्रमबीच सकिएको छ ।
फन रनमा एसियाली खेलकुदमा भाग लिने सम्बन्धित खेलका खेलाडी र प्रशिक्षकसँगै पूर्वओलम्पियन, खेल संघसंस्थाका पदाधकारी, कूटनीतिक व्यक्तित्व गरी करिब एक हजारको सहभागिता रहेको थियो । सातदोबाटोस्थित एनओसी मुख्यालयबाट सुरु फन रन विभिन्न स्थानको परिक्रमा गर्दै पाटन दरबार स्क्वायर पुगेको हो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फर रन आईची–नागोया एसियाडको प्रवर्द्धनका मात्र नभई एसियाडमा नेपालको सहभागिता सन्देश दिलाउन फन रन आयोजना गरिएको बताए ।
एनओसी महासचिव राजीव श्रेष्ठले फन रन सफल बनाउने सबै पक्षलाई धन्यवाद दिँदै यो स्थानीय सामुदायिक सहभागितासहित ओलम्पिकको मान्यता र भावना बुझाउने अभियान भएको बताए ।
सो फन रनमा ओलम्पिक काउन्सिल अफ एसियाका डेपुटी डारेक्टर विनोदकुमार तिवारी, आईची नागोया एसियन गेम्सको आयोजक कमिटीका मिडिया विभाग निर्देशक फुमिहितो कानाइजुका, विभागका म्यानेजर मानामी ओकुमुराको पनि सहभागिता थियो ।
फन रनको समापन कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो । सहभागीलाई एसियाली खेलकुदसम्बन्धी ‘क्विज’ सत्र गरिएको थियो ।
एनओसीले ओलम्पिक फन रनको आयोजना गरेको यो लगातार तेस्रो पटक हो । यसअघि नेपाल ओलम्पिक कमिटीले सन् २०१८ मा इन्डोनेसियामा भएको जकार्ता–पालेम्बाङ एसियाड र सन् २०२२ मा चीनमा भएको हाङचाउ एसियाडको प्रचारमा पनि फन रनको आयोजना गरेको यसपल्टका फन रन संयोजक एनओसी सचिव रामकृष्ण श्रेष्ठले बताए ।
