प्रधानमन्त्री कप क्रिकेटको कोशी छनोटमा सुनसरी र मोरङको विजयी सुरुवात

पाँच दिनसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, इलाम, उदयपुरका खेलाडी प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने १८ जना खेलाडी छनोट गरिनेछ ।

फाल्गुन २९, २०८२

अर्जुन सुवेदी

Sunsari and Morang make winning starts in Koshi selection for Prime Minister's Cup Cricket

What you should know

सुनसरी — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको कोशी छनोटमा सुनसरी र मोरङले विजयी सुरुवात गरेको छ । शुक्रबारदेखि सुरु प्रादेशिक छनोट अन्तर्गत इटहरीमा भएको उद्‌घाटन खेलमा सुनसरीले इलामलाई ६ विकेटले पराजित गरेको छ । इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा ओसिलो पिचका कारण खेल २६ ओभरमा छोट्याइएको थियो । 

पहिले ब्याटिङ गरेको इलामले २५ दशमलव ३ बल खेल्दै १ सय ३८ रन बनाउँदा सबै विकेट गुमाएको थियो । इलामका लागि लब कामतले सर्वाधिक ४१ रन बनाउँदा सुमित शर्माले नटआउट ३७ र सन्दीप ढुंगाना तथा शिवांस बजगाईँले समान १५–१५ रन जोडे । सुनसरीका विकल्प आचार्यले ५ तथा कविराज खत्रीले २ विकेट लिए । 

१ सय ३९ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुनसरीले २२ दशमलव १ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । सुनसरीको जितमा आकाश सर्राफले अर्धशतकीय इनिङ खेले । ५९ बलको सामना गरेका उनले ५ छक्का र ५ चौका प्रहार गर्दै ६२ रन बनाए । रितेश रोयले ३३ रन बनाउँदा रबिन मण्डलले नटआउट १६ र रोहन शाहले १४ रन जोडे । इलामका हेमन राइले २ विकेट लिए । 

शुक्रबार नै विराटनगरमा भएको अर्को खेलमा मोरङले उदयपुरलाई २९ रनले पराजित गरेको छ । विराटनगरस्थित मेरिबन ज्वाला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभरको खेलमा ३६ दशमलव १ बल खेल्दै १० विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । मोरङका दिपेश कँडेल र कमलदेव चौधरीले समान ३२–३२ रन बनाउँदा शाकिब हकले २६ रन जोडे । प्रतीक पोखरेल र प्रेम कामतले १४–१४ रन बनाए । फिर्दोश अन्सारीले ११ रन बटुले । 

उदयपुरका आइस भट्टराईले ५ विकेट लिदा सोनु शर्मा र जीवन कार्कीले २–२ विकेट हात पारे । जवाफमा १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको उदयपुर ४८ दशमलव ४ बलमा १ सय ३८ रनमा समेटियो । उदयपुरका प्रभात किरण राईले ५० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । सोनु अन्सारीले २९, सुमन श्रेष्ठले १७ र सुशान्त तिम्सिना तथा निर्देश बस्नेतले १०–१० रन जोडे । मोरङका प्रेम कामतले ४ तथा दिपेश कँडेल र प्रतीक पोखरेलले २–२ बिकेट हात पारे । 

प्रतियोगिता अन्तर्गत शनिबार जनता क्रिकेट खेल मैदान इटहरीमा उदयपुर र इलामबीच खेल हनेछ । शनिबार नै मेरिबन ज्वाला खेल मैदान विराटनगरमा झापा र सुनसरीबीच प्रतिस्पर्धा हुने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले जानकारी दिए । पाँच दिनसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, इलाम, उदयपुरका खेलाडीहरु प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने १८ जना खेलाडी छनोट गरिनेछ । छनोट भएका उनीहरुले चैतको पहिलो साता काठमाडौं, वीरगन्ज र जनकपुरमा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश टिमबाट खेल्ने प्रादेशिक क्रिकेट संघ कोसीका अध्यक्ष सर्वजितराज पाण्डेले जानकारी दिए ।  

अर्जुन

Link copied successfully