नागार्जुन उपमेयर कप तेक्वान्दो सुरु

सिनियर एकल पुम्सेको पुरुषमा मिलन र महिलामा रोशनी पहिलो भएका हुन् । सामीले क्याडेट पुरुष ४१ केजीमुनि सफलता पाए ।

फाल्गुन २९, २०८२

कान्तिपुर संवाददाता

Nagarjuna Deputy Mayor Cup Taekwondo begins

काठमाडौँ — स्युचाटार तेक्वान्दो डोजाङका मिलन विष्ट, रोशनी शाह र आयोजक सीतापाइला तेक्वान्दो डोजाङ ‘ए’ का मोहम्मद सामीले प्रथम नागार्जुन उपमेयर कप तथा १२ औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

सिनियर एकल पुम्सेको पुरुषमा मिलन र महिलामा रोशनी पहिलो भएका हुन् । सामीले क्याडेट पुरुष ४१ केजीमुनि सफलता पाए । नागार्जुन नगरपालिका–४ स्थित खोपाटोलमा भइरहेको प्रतियोगितामा मिलनले निर्मल तेक्वान्दो डोजाङका शुभम् घर्तीमगर तथा रोशनीले स्वयम्भू तेक्वान्दो डोजाङकी अन्जना वाइबालाई पराजित गरे । सामीले जुपिटर हाइस्कुलका रौनक कामतलाई हराए ।

सिनियर पुरुष ५४ केजीमुनि शुभम्जंग कुँवरले ढल्को तेक्वान्दो डोजाङका पेम्बा तामाङ तथा ५८ केजीमुनि एलन आले मगरले स्युचाटारका रामेश्वर बुढाथोकीलाई हराएर स्वर्ण जिते । विजेताद्वय गोर्खाली तेक्वान्दो डोजाङका हुन् ।

सिनियर महिला ४६ केजीमुनि ढल्कोकी दीक्षा तामाङले द नेक्स्ट लेभलकी सीमा जर्घामगर तथा ४९ केजीमुनि लायन मार्सल आर्ट्सकी सोनिया तामाङले ढल्कोकी पासाङ लामालाई हराएर स्वर्ण जिते ।

क्याडेट एकल पुम्सेको पुरुषमा जैसीदेवलका प्रसाङ शाक्यले स्युचाटारका रिवाज डंगोल र महिलामा जैसीदेवलकी मुविक्षा गजुरेलले स्युचाटारकी सिमरन गुरुङलाई हराएर स्वर्ण जिते । जुनियर एकल पुम्सेको पुरुषमा जैसीदेवलका रोजेन प्रजापतिले स्युचारटारका सजल बाँस्कोटा र महिलामा स्युचाटारकी शुभश्री श्रेष्ठले स्वयम्भूकी पूजा तामाङलाई हराएर स्वर्ण जिते । 

चिल्ड्रेनतर्फ पुरुष २३ केजीमुनि ढल्कोका गंगा परियार तथा २६ केजीमुनि लायन मार्सल आर्ट्सका सनिश सेन ठकुरी पहिलो बने । गंगाले सीताइपाइला ‘ए’ वीरेन्द्र हुमागाईं र सनिशले सीतापाइला ‘ए’ कै लक्की थापामगरलाई पराजित गरे ।

चिल्ड्रेनतर्फ नै पुरुष २९ केजीमुनि ढल्कोका ग्याल्जेन तामाङले विष्णुदेवी तेक्वान्दो डोजाङका रिजन तामाङ, ३३ केजीमुनि ढल्कोका नवराज परियारले लायनका ओस्कर तामाङ र ३७ केजीमुनि स्वयम्भूका प्रज्ज्वल पौडेलले लायनका प्रभाकर महरलाई हराउदै शीर्ष स्थान हात पारे ।

प्रतियोगिताको नागार्जुन नगरपालिककी उपमेयर सुशीला अधिकारीले उद्घाटन गरिन् । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं अध्यक्ष बब्लु सिवाकोटीले जानकारी दिए ।

उद्घाटनका अवसरमा खेलाडी सुभाङ्गी श्रेष्ठलाई २० हजार र दिलिका भ्लोनलाई १० हजारसहित सम्मान गरिएको थियो । गोरखापत्र दैनिकका प्रजित शाक्य र अन्नपूर्ण पोस्टका विष्णु थापा पनि सम्मानित भए ।

कान्तिपुर

Link copied successfully