काठमाडौं र ललितपुर फाइनलतर्फ

लगातार चौथो जित हात पार्दै काठमाडौं र ललितपुर जिल्ला प्रधानमन्त्री कप बाग्मती प्रदेश पुरुष क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलनजिक

फाल्गुन २९, २०८२

कान्तिपुर संवाददाता

Kathmandu and Lalitpur advance to the finals

What you should know

काठमाडौँ — काठमाडौं र ललितपुर जिल्लाले प्रधानमन्त्री कप बाग्मती प्रदेश पुरुष क्षेत्रीय क्रिकेट प्रतियोगितामा लगातार चौथो विजय हात पारेका छन् । शुक्रबार भएको खेलमा काठमाडौंले चितवनलाई ५ विकेटले र ललितपुरले नुवाकोटलाई ६ विकेटले पराजित गरे ।

लगातारको विजयले यी दुई टोली फाइनलतर्फ अग्रसर भएका छन् । बाग्मती प्रदेश अर्न्तगतका ६ र त्रिभुवन विश्वविद्यालय गरी सहभागी ७ टोलीले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनल खेल्ने प्रावधान रहेको छ । 

ओपनर प्रशान्त महतले ७८ रन बनाए पनि टस जितेर ब्याटिङ रोजेको चितवन ४६.२ ओभरमा २ सय २५ रनमा अलआउट भयो । प्रशान्तले ९९ बल खेली ७ चौका र २ छक्का प्रहार गरे । उत्कृष्ट लयमा रहेका पवनबाहादुर थापाले ४७ रन जोडे । उनले ६२ बल खेली ६ चौका प्रहार गरे । 

अर्या महतो ४१ बल खेली ३ चौका प्रहार गरि २५, रोशन झा र कप्तान गौतम केसी समान १७ तथा दीपेश श्रेष्ठ १० रन बनाई आउट भए । रोविन शर्मा ५ रनमै आउट भएका थिए भने प्रतिक श्रेष्ठले खाता खोल्न सकेका थिएनन् । काठमाडौंबाट प्रतिश जिसी र दयानन्द मण्डलले ३–३ विकेट लिए । प्रतिशले ७ ओभरमा ३५ र दयानन्दले ७.२ ओभरमा ४१ रन खर्चे । सोनु देवकोटाले १० ओभरमा २२ रनमात्र खर्चेर २ तथा सन्दीप पराजुली र कप्तान इशान पाण्डेले १–१ विकेट लिए ।

ओपनरद्वय रित गौतम र सम्राट शाहले अर्धशतक बनाएपछि काठमाडौंले ३६.२ ओभरमा २ सय २९ रन बनायो । रितले ३८ बल खेली १२ चौका र १ छक्का तथा सम्राटले ६९ बल खेली ६ चौका र २ छक्का प्रहार गरे । प्लेयर अफ द म्याच भने सोनु रहे । उनले ३८ बल खेली ४ चौका र १ छक्का प्रहार गरी ३५ रनमा अविजित रहे । 

उत्तम थापामगर ४२ बल खेली समान २ चौका र छक्का प्रहार गरि ३९, इशान १६ बल खेली १ चौका प्रहार गरि ११ रनमा आउट भए । प्रतिश १० बल खेली समान १ चौका र छक्का प्रहार गरि १४ रनमा अविजित रहे । चितवनका प्रतिकले १० ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर २ तथा नरेश प्रधान, दीपेश र प्रशान्तले १–१ विकेट लिए । 

मूलपानीको तल्लो मैदानमा टस जितेर ब्याटिङ गरेको नुवाकोट ४९.३ ओभरमा २ सय ५ रनमा अलआउट भयो । मन्जीत थपलिया ६४ रन बनाई अविजित रहे । उनले ८७ बल खेली ६ चौका र १ छक्का प्रहार गरे । अनुभव खनाल ५० बल खेली २ चौका प्रहार गरि २७, रोशन विक २०, राजेश रिमाल १७, योगेश भाट क्षेत्री १६, दीनेश सुवेदी १५ र विधान खतिवडा ११ रनमा आउट भए । 

ललितपुरबाट सूर्य तामाङ प्लेयर अफ द म्याचमा चुनिए । उनले ९.३ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । विपिन आचार्य, तिलकराज भण्डारी, सदित्य बन्जारा र विवेक रानामगरले १–१ विकेट लिए । 

ओपनर आशुतोष घिरैयाले ४१ बलमा ६९ रन बनाएपछि ललितपुरले २३.१ ओभरमै लक्ष्य पूरा गर्यो । उनले १३ चौका र १ छक्का प्रहार गरे । उनले ओपनर रोनिम तिवारीसँग पहिलो विकेटमा नौ ओभर भित्र ९३ रनको साझेदारी गरेका थिए । रोनिमले १५ बल खेली ३ चौका र १ छक्का प्रहार गरि २४ रन बनाए । आदिल खानले ४४ बल खेली समान ३ चौका र छक्का प्रहार गरि ५६, सचिन लेखक २३, अर्यान जंग क्षेत्री ४ रनमा आउट भए । विवेक १२ रनमा अविजित रहे । 

मकवानपुरको दोस्रो जित

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा मकवानवपुरले त्रिवीलाई ९ विकेटले पराजित गर्यो । पहिलो दुई खेल हारेको मकवानपुरले लगातार दोस्रो विजय हात पारेको हो । त्रिविको यो लगातार चौथो हार हो ।

टस जितेर ब्याटिङ रोजेको त्रिवि ३५.३ ओभरमा १ सय ३६ रनमा अलआउट भयो । मकवानपुरले १४.५ ओभरमै १ सय ३८ रन बनायो । प्लेयर अफ द म्याच शुभ कंसाकार २० बल खेली ३ चौका र २ छक्का प्रहार गरि ३४ रन बनाई सन्जीव मानन्धरको बलमा आउट भए । उनको ओपनिङ जोडी युबिन बुढाथोकी ४६ बल खेली ६ चौका र २ छक्का प्रहार गरि ४९ तथा कप्तान सुमन सुनार २४ बल खेली ५ चौका र २ छक्का प्रहार गरि ३६ रनमा अविजित रहे । 

यसअघि सुरज तिरुवाले अविजित ९६ रन बनाए पनि त्रिविले ठूलो स्कोर बनाउन सकेको थिएन । उनले १ सय ३ बल खेली १२ चौका र २ छक्का प्रहार गरे । त्यसबाहेक अशोक सुनारले १२ र धिरज शाहले १० रन बाहेक अन्यले दोहोरो स्कोरमा रन बनाउन सकेका थिएनन् । शुभले ७ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । मोहम्मद अहमद राजाले ३.३ ओभरमा १७ रन खर्चेर ३ र साकार गजुरेलले १० ओभरमा २८ रन खर्चेर २ विकेट लिए । 

कान्तिपुर

Link copied successfully