शनिबार ‘एसियन गेम्स फन रन’ हुँदै

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रमअन्तर्गत नेपालमा पनि फन रन आयोजना गर्न लागेको जनाएको छ ।

फाल्गुन २९, २०८२

कान्तिपुर संवाददाता

'Asian Games Fun Run' to be held on Saturday

What you should know

काठमाडौँ — २० औं एसियाली खेलकुद आयोजनाको खुसी साट्न र एसियाली खेलको प्रवर्द्धनका लागि शनिबार ‘एसियन गेम्स फन रन’ हुन भएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रमअन्तर्गत नेपालमा पनि फन रन आयोजना गर्न लागेको जनाएको छ ।  

२० औं एसियाली खेलकुद जापानको आइची/नागोया सहरमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुनेछ । प्रत्येक चार वर्षमा हुने एसियाडलाई उत्सवको रुपमा मनाउने क्रममा फन रन हुँदै आएको एनओसीले जनाएको छ ।

शनिबार बिहान ७ः३० बजे सातदोबाटोस्थित एनओसी मुख्यालयबाट फन रन सुरु हुनेछ । त्यसबाट विभिन्न स्थान हुँदा मंगलबजारस्थित पाटन दरबार स्क्वायर पुगेर सकिनेछ । करिब ३ किलोमिटर दुरीमा हुने रुटमा सहभागीले पाटनका सम्पदा क्षेत्रको अवलोकन गर्ने अवसर पाउने जनाइएको छ ।

एसियाको सर्वाधिक ठूलो खेलमेला एसियाली खेलकुदको प्रचारप्रसार गर्ने र एसियाली खेलकुदको खेलभावना, एकता र सहभागिताको मूल्य मान्यतालाई स्थापित गर्न सहभागी हुने प्रायः राष्ट्रले फन रन गर्ने परम्परा रहिआएको छ । सोहीअनुरुप नै नेपाल ओलम्पिक कमिटीले एसियाड फन रनको आयोजना गर्न लागेको हो । ओलम्पिकको भावनाअनुरुप हुने यस परम्परालाई कायम राख्न नेपाल ओलम्पिक कमिटीले विगतका एसियन गेम्स अगाडि फन रनको आयोजना गर्दै आएको अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।  

फन रनका लागि एनओसी सचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय एसियन गेम फन रन आयोजक समितिको गठन गरिएको छ । फन रनमा खेलाडी, प्रशिक्षक, ओलम्पियन, खेल संघसंस्थाका पदाधकारी, कूटनीतिक व्यक्तित्व, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी र सञ्चारकर्मी र विधार्थी गरी करीब एक हजारभन्दा बढीको सहभागिता रहनेछ ।

ओलम्पिक काउन्सिल अफ एसियाका डेपुटी डारेक्टर विनोदकुमार तिवारी, आइची/नागोया एसियन गेम्सको आयोजक कमिटीका मिडिया विभाग र पीआर निर्देशक फुमिहितो कानाइजुका र विभागका म्यानेजर मानामी ओकुमुराको पनि फन रनमा उपस्थिति रहने जनाइएको छ ।

२० औं एसियाली खेलकुदमा भाग लिनका लागि एनओसीमार्फत् नेपालबाट ३२ खेल दर्ता भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

कान्तिपुर

Link copied successfully