नाजुक मोडमा टोटनहम

युरोपेली च्याम्पियन्स लिग फटुबलको अन्तिम १६ को पहिलो लेगको खेलमा एट्लेटिको म्याड्रिडसँग टोटनहम ५–२ को फराकिलो अन्तरले पराजित भएको हो ।

फाल्गुन २८, २०८२

एएफपी

Tottenham at a critical juncture

म्याड्रिड — स्तब्ध बनेका टोटनहमका प्रशिक्षक इगोर टुडोरले मानेका छन्, क्लबमा जे जति भइरहेछ, खराब मात्र भइरहेको छ । इंग्लिस क्लब टोटनहमले मंगलबार मात्रै आफ्नो १ सय ४४ वर्ष लामो इतिहासमा पहिलो पटक लगातार छैटौं खेलमा हार बेहोरेको छ । युरोपेली च्याम्पियन्स लिग फटुबलको अन्तिम १६ को पहिलो लेगको खेलमा एट्लेटिको म्याड्रिडसँग टोटनहम ५–२ को फराकिलो अन्तरले पराजित भएको हो । 

असाध्यै नाजुक मोडबाट गुज्रिरहेको टोटनहम इंग्लिस प्रिमियर लिगमा पनि रेलिगेसन क्षेत्रबाट एक अंक मात्र माथि छ । थोमस फ्रान्क बर्खास्तगीमा परेपछि टुडोरले फेब्रुअरी १४ मा नियुक्ति पाएका थिए । त्यसयताका सबै ४ खेलमा टोटनहमले हार मात्र आत्मसात् गरेको छ । उनको आगमनले खेलाडीमा आत्मविश्वास फर्किन सकेको छैन । अहिलेसम्म टोटनहमका कोही पनि प्रशिक्षकले आफ्ना सुरुआती चार खेल गुमाएका छैनन् । 

टुडोर आफैंले एट्लेटिकोविरुद्धको खेलेपछि भनेका छन्, ‘हामी साह्रै कमजोर रह्यौं, असाध्यै साह्रै टुट्ने टिम रह्यौं । मैले आफ्नोबारे यस्तो भनिरहेको भने होइन, हामीलाई शान्त नै हुनु छ, कुरा कम गर्नु छ ।’ 

टोटनहमलाई वास्तवमै के भएको हो त ? यो प्रश्नमा टुडोरले भनेका छन्, यो असाध्यै अस्वाभाविक छ, अप्रत्यासित पनि छ । क्रोएसियाली प्रशिक्षक टुडोरले भनेका छन्, ‘यस्तो किन भइरहेको छ, त्यो पनि भन्न गाह्रो छ ।’

अहिले उनलाई लिएर भइरहेको सबैभन्दा ठूलो आलोचना हो, एट्लेटिकोविरुद्धको खेलमा गोलपोस्टको जिम्मा एन्टोनिन किन्स्कीलाई दिनु । यी गोलरक्षकले यसै खेलबाट च्याम्पियन्स लिगमा डेब्यु गरेको हो, तर मैदानमा भने १७ मिनेट मात्र टिके । उनलाई तत्काल सब्स्टिच्युट गरिहालिएको थियो । त्यसबीच टोटनहमले तीन गोल खाइसकेको थियो र त्यसमध्ये दुई गोल सिधा उनकै भुलमा भएका थियो । 

त्यति मात्र होइन, खेलको अन्त्यतिर क्रिस्टियानो रोमेरो र जाओ पाल्हिन्हाको टाउको एक आपसमा ठोक्किएको थियो । त्यसले गर्दा दुवै खेलाडी मैदान छाड्न बाध्य भए । यस्तोमा टोटनहम ९ खेलाडीमा सीमित भएको थियो । टोटनहमको कप्तान पनि रहेका रोमेरोले खेल्ने प्रयास त गरे तर सकेनन् । अब टोटनहमको प्रिमियर लिगमा लिभरपुलविरुद्ध खेल रहेको छ । त्यस खेलमा दुवै खेलाडीको खेल्ने सम्भावना कम छ । 

त्यति मात्र होइन, सेन्टर ब्याक मिकी भान डे भेनले पनि प्रतिबन्धका कारण खेल्ने छैनन् । यता गोलरक्षक किन्स्कीका लागि च्याम्पियन्स लिग इतिहासकै सबैभन्दा बढी बिर्सनलायक डेब्यु भयो । सब्स्टिच्युट भएर मेट्रोपोलिटानो स्टेडियमभित्र प्रवेश गर्ने क्रममा टिमका दुई खेलाडीले उनलाई समातेर सहानुभूति दिनुपरेको थियो । यो सिजनमै टोटनहमका लागि तेस्रोपल्ट खेल्ने क्रममा उनले अक्टोबरयता पहिलो पटक सुरुदेखि खेल्ने मौका पाएका थिए । 

टुडोरले आफ्नो पहिलो रोजाइका गोलरक्षक गुगलिल्मो भिकारिओलाई बेन्चमा राख्ने गरेको निर्णय सर्वथा गलत साबित भयो । यसबारे प्रशिक्षकले स्पष्टीकरण दिँदै भनेका छन्, ‘यस्तो निर्णय आवश्यक थियो, किनभने यसले टिम र खेलाडीको बचाउ गर्न सकिन्थ्यो । तर अहिले स्थिति वास्तवमै बिग्रेको छ ।’ किन्स्कीले गत वर्षको जनवरीमा टोटनहमसँग अनुबन्ध गरेका थिए । क्लबका गोलरक्षक घाइते रहेको हुनाले उनलाई स्लाभिया प्रागबाट झिकाइएको थियो । 

एएफपी

Link copied successfully