प्रतियोगितामा ग्योरोगीमा चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर तथा पुम्सेमा क्याडेट, जुनियर र सिनियर विधा गरी २८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
काठमाडौँ — प्रथम नागार्जुन उपमेयर कप तथा १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता भोलि शुक्रबार सुरु हुने भएको छ ।
नागार्जुन नगरपालिकाको सहयोग र सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा हुने २ दिने प्रतियोगितामा विभिन्न स्कुल तथा डोजाङका करिब ६ सय खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं अध्यक्ष बब्लु सिवाकोटीले जानकारी दिएका छन् ।
प्रतियोगितामा ग्योरोगीमा चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर तथा पुम्सेमा क्याडेट, जुनियर र सिनियर विधा गरी २८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा शीर्ष ३ स्थान हात पार्ने टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कृत दिने आयोजक समितिका सचिव राजन भण्डारी बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब २० लाख रुपैयाँ खर्च हुने अध्यक्ष सिवाकोटीले बताए । खेल नागार्जुन–४ स्थित खोपाटोलमा खेलाइने छ । हरेक स्पर्धाका स्वर्ण विजेतालाई बाफलस्थित हृदय निकेतनले प्लस टु अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ ।
त्यससम्बन्धी सम्झौतापत्रमा अध्यक्ष सिवाकोटी र निकेतनका प्रिन्सिपल करणसिंह गोयलले हस्ताक्षर गरिसकेका छन् ।
