काठमाडौंको लगातार तेस्रो जित

काठमाडौंले बिहीबार मूलपानीको तल्लो मैदानमा भएको खेलमा भक्तपुरलाई ८० रनले पराजित गर्यो । भक्तपुरले ४ खेलमा दोस्रो पराजय भोगेको हो ।

फाल्गुन २८, २०८२

कान्तिपुर संवाददाता

Kathmandu's third consecutive win

काठमाडौँ — काठमाडौं जिल्लाले प्रधानमन्त्री कप बागमती प्रदेश पुरुष क्षेत्रीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो विजय हात पारेको छ । काठमाडौंले बिहीबार मूलपानीको तल्लो मैदानमा भएको खेलमा भक्तपुरलाई ८० रनले पराजित गर्यो । भक्तपुरले ४ खेलमा दोस्रो पराजय भोगेको हो ।

उत्तम थापामगरले ९५ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको काठमाडौंले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ८० रन बनायो । उत्तमले ७२ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरे । रविन जोशीले पनि अर्धशतक बनाए । उनले ५२ बल खेली ८ चौका र १ छक्का प्रहार गरि ५२ रन जोडे ।

ओपनर प्रसिद्ध जैसीलाई खाता खोल्नु अगाडि गुमाए पनि काठमाडौंबाट कप्तान इशान पाण्डेले ५१ बल खेली ३ चौकासहित २९, रित गौतमले ४८ बल खेली ३ चौका र १ छक्कासहित २८, सम्राट शाहले ३३ बल खेली १ चौकासहित २१, सोनु देवकोटाले १७, उपेन्द्र खत्रीले १६ रन बनाए । भक्तपुरका सक्रियप्रताप कार्की र सुवास खत्रीले ३–३ तथा अविनाश बस्याल र कप्तान क्रिस कार्कीले १–१ विकेट लिए । सक्रियले ८ ओभरमा ४८ र सुवासले १० ओभरमा ५५ रन खर्चे । 

जबाफमा आएको भक्तपुर ४१.५ ओभरमा २ सय रनमा अलआउट भयो । सागर घिमिरेले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बल खेली ६ चौका र १ छक्का प्रहार गरे । सुवासले ४१ रन जोडे । उनले ४७ बल खेली २ चौका र १ छक्का प्रहार गरे । ओपनर रिङजिन लामाले ४७ बल खेली ५ चौकासहित ३२ रन बनाए । सृजल धामी २१ रनमा अविजित रहे भने सौरभ साखकर्मीले १८ र सक्रियले १५ रन बनाए । 

काठमाडौंबाट सन्दीप पराजुलीले ३ विकेट लिए । उनले ८.५ ओभरमा ५६ रन खर्चे । इशानले ६ ओभरमा २७ र सोनुले १० ओभरमा ४० रन खर्चेर २–२ दयानन्द मण्डल, धीरज देउवा र उपेन्द्र खत्रीले १–१ विकेट लिए । 

प्रतिकको अलराउन्ड प्रर्दशन

प्रतिक श्रेष्ठको अलराउन्ड प्रदर्शनमा चितवनले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन विश्वविधालय (त्रिवी) लाई २ सय ११ रनले पराजित गर्यो । चितवनको तीन खेलमा यो दोस्रो विजय हो । 

पवनबहादुर थापाले उच्च ब्याटिङ प्रर्दशन गरेपछि टस जितेर ब्याटिङ रोजेको चितवन ४३ ओभरमा खेली २ सय ६७ रनमा अलआउट भयो । जबाफमा आएको त्रिवि २६.१ ओभरमा ५६ रनमा अलआउट भयो । त्रिविको यो लगातार तेस्रो हार हो । अघिल्ला दुई खेलमा शतक र अर्धशतक बनाएका पवनले ७९ रन बनाएपछि चितवनले मजबुत स्कोर बनाएको थियो । उनले ७३ बल खेली ७ चौका प्रहार गरे । 

ओपनर प्रशान्त महतले प्रतिबलको हिसाबले खेल्दै ८ चौका प्रहार गरि ४४ रन बनाए । कृजन गुरुङले ३१ बल खेली ६ चौकासहित ३५, प्रतिकले २५ बल खेली ३ चौकासहित २५, कप्तान गौतम केसी र दीपेश श्रेष्ठले समान २०, अर्या महतोले १३ र रोशन झाले १२ रन बनाए । त्रिविका कप्तान सुमित झा र सञ्जीव मानन्धरले ३–३ विकेट लिए । सुमितले ७ ओभरमा २३ र सञ्जीवले १० ओभरमा ५८ रन खर्चे । लोकेन्द्र तिमिल्सिना, सन्तोषबहादुर चन्द र सुरज तिरुवाले १–१ विकेट लिए ।

जबाफमा आएको त्रिविबाट नवीन रावलले ४२ बल खेली २ चौका प्रहार गर्दै १३ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । टोलीका अन्तिम ३ खेलाडीले खाता खोल्नै सकेनन् । प्रतिकले ४ विकेट लिए । उनले ४.१ ओभरमा १२ रनमात्र खर्चे । दीपेश र कृजनले २–२ तथा गौतमले १ विकेट लिए । 

मकवानपुरको पहिलो जित

ओपनर शुभ कंसाकार र कप्तान सुमन सुनारको शतकमा मकवानपुरले छनोटमा पहिलो विजय हात पारेको छ । मकवानपुरले माथिल्लो मूलपानीमा नुवाकोटलाई २ सय ७९ रनले पराजित गर्यो । 

शुभले १ सय २२ र सुमनले १ सय १० रन बनाएपछि टस जितेर ब्याटिङ गरेको मकवानपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई ३ सय ६६ रनको विशाल योगफल बनायो । शुभले ७४ बल खेल्दै १३ चौका र ८ छक्का तथा सुमनले ९८ बल खेल्दै ८ चौका र ५ छक्का प्रहार गरे । शुभले युबिन बुढाथोकीसँग पहिलो विकेटमा १ सय ४ र सुमनसँग दोस्रो विकेटमा ९६ रनको साझेदारी गरे । 

युबिनले ४४ बल खेली ४ चौकासहित ३१ रन बनाए । सक्क्षम बस्ताकोटीले ५० बल खेली ४ चौका र २ छक्काका साथ ४६ रन बनाए । विशाल फुयाल १५ रनमा आउट भए । नुवाकोटका इशान पाली र विधान खतिवडाले २–२ तथा गणेश गौतम, रोशन विक र योगेश भाट क्षेत्रीले १–१ विकेट लिए । 

नुवाकोट २६.३ ओभरमा ८७ रनमै अलआउट भयो । मन्जीत थपलिया २४, योगश १५, कप्तान राजेश रिमाल १३ र दिनेश सुवेदी १० रनमा आउट भए । भक्तपुरका रोहित ठाकुर, साकर गजुरेल र स्वरुप श्रेष्ठले ३–३ विकेट लिए तथा विशालले १ विकेट लिए । रोहितले ५ ओभरमा २८, साकरले ७.३ ओभरमा १८ र स्वरुपले ५ ओभरमा १६ रन खर्चे ।  

कान्तिपुर

Link copied successfully