गोरखा नगरपालिका–९ स्थित कृत्रिम घाँसे मैदानमा फुटबल प्रतियोगिता हुने आयोजक द ओसन क्लबले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
गोरखा — ११ औं ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिता आउँदो चैत २७ देखि वैशाख १ सम्म हुने भएको छ ।
गोरखा नगरपालिका–९ स्थित कृत्रिम घाँसे मैदानमा फुटबल प्रतियोगिता हुने आयोजक द ओसन क्लबले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । प्रतियोगितामा छात्रतर्फ देशभरबाट यू–१३ उमेर समूहको १२ टिमको सहभागिता रहने छ ।
गोरखाबाट दुई टिम र अन्य जिल्लाबाट १० टिम सहभागी रहने ओसन क्लबका अध्यक्ष अमित खत्रीले बताए । एजी १० एकेडेमी ललितपुर, समाज कल्याण खेलकुद केन्द्र क्लब काठमाडौं, जी एण्ड ए एकेडेमी काठमाडौं, घोडाघोडी फुटबल एकेडेमी कैलाली, कटारी टाइगर फुटबल क्लब उदयपुर, नवजागृति क्लब सिमरा, पटिहानी फुटबल क्लब चिवतन, नारायणगढ फुटबल क्लब चितवन, स्टार स्पोर्ट्स युवा क्लब चितवन र द एक्सलेसर स्कुल काठमाडौंले सहभागिता जनाउने छन् ।
त्यस्तै गोरखाबाट हिल्ली फिल्डर्स गोरखा र द ओल्ड क्यापिटल माविले प्रतिनिधित्व गर्ने उनले बताए । लिगकम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा ३९ खलेहरु हुनेछन् । सहभागी टिमबीच एक आपसमा कम्तीमा ५ खेल हुने क्लबले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुनेले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्रको साथमा रनिङ ट्रफी, दोस्रो हुनेले १५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
त्यस्तै फेयर प्ले अवार्ड, उत्कृष्ट गोलरक्षक र प्रतिभावान खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता संचालनका लागि २० लाख १२ हजार ७ सय ६९ खर्च लाग्ने अनुमान गरिएको छ ।
