एसपीएको ब्रान्ड एम्बासडरमा लोकेश

एसपीए कलेजले राष्ट्रिय क्रिकेट टोलीका सदस्य लोकेश बमलाई कलेजको ब्रानड एम्बासडर नियुक्त गरेको छ ।

फाल्गुन २६, २०८२

टेकराज जोशी

Lokesh as SPA's brand ambassador

धनगढी — सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्था एसपीए कलेजले राष्ट्रिय क्रिकेट टोलीका सदस्य लोकेश बमलाई कलेजको ब्रानड एम्बासडर नियुक्त गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा एसपीएको आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरिएको हो । शिक्षा, खेलकुद तथा व्यक्तित्व विकासका क्षेत्रमा विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्यले लोकेशलाई उक्त जिम्मेवारी प्रदान गरिएको कलेजले जनाएको छ ।

लोकेश एसपीए कलेजका विद्यार्थीसमेत हुन् । उनी नेपाली क्रिकेटका उदाउँदा प्रतिभाशाली विकेटकिपर/ब्याटरका रूपमा परिचित छन् । हालै सम्पन्न ट्वान्टी–२० विश्वकप छनोटसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले सुदूरपश्चिम प्रदेश तथा राष्ट्रको गौरव बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।

ब्रान्ड एम्बासडर नियुक्त भएपछि लोकेशले आफू अध्ययन गरेको कलेजसँग यसरी जोडिन पाउँदा खुसी लागेको बताए । उनले एसपीए कलेजले सधैं विद्यार्थीलाई उत्साहित गर्दै आएको उल्लेख गर्दै कलेजका प्रबन्ध निर्देशक सुवास शाहीप्रति धन्यवाद व्यक्त गरे ।

क्याम्पस प्रमुख बुधराम चौधरीले एसपीए शिक्षा र खेलकुद दुवै क्षेत्रमा अग्रसर संस्था भएको उल्लेख गर्दै विद्यार्थीको सफल भविष्यका लागि सबै खेल र विधाका प्रतिभालाई समान महत्त्वका साथ अवसर प्रदान गर्दै आएको बताए ।

कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले पनि लोकेशलाई ब्राण्ड एम्बासडर नियुक्त गर्नु कलेजका लागि गर्वको विषय भएको बताए । सोही अवसरमा लोकेश बम र विद्यार्थीबीच प्रेरणादायी प्रश्नोत्तर तथा अन्तर्क्रिया कार्यक्रमसमेत भएको थियो ।

यसअघि पनि एसपीएले नारायण जोशी, कविता कुँवर र शेर मल्ललगायत क्रिकेट खेलाडीलाई एम्बासडर नियुक्त गरिसकेको छ ।

टेकराज जोशी कान्तिपुरका धनगढी संवाददाता हुन्।

Link copied successfully