बास्केटबल लिगमा आर्मी र गोल्डेनगेट विजयी

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मंगलबार सुरु लिगको उद्घाटन खेलमा आर्मीले केभीसी हाउन्ड्सलाई १०७–७९ स्कोरले पराजित गरेको हो ।

फाल्गुन २६, २०८२

कान्तिपुर संवाददाता

Army and Golden Gate win in basketball league

काठमाडौँ — विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा वियजी सुरुआत गरेका छन् ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मंगलबार सुरु लिगको उद्घाटन खेलमा आर्मीले केभीसी हाउन्ड्सलाई १०७–७९ स्कोरले पराजित गरेको हो ।

आर्मीले पहिलो क्वाटरमा २९–१७, दोस्रो क्वाटरमा २४–२२, तेस्रो क्वाटरमा २८–२१ र चौथो क्वाटरमा २३–१९ को अग्रता बनाएर खेल जित्यो । आर्मीका निश्चल महर्जनले सर्वाधिक २७ स्कोर गरे । उनी खेलको मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

पहिलो संस्करणमा सहभागी नभएको आर्मीले यस पटक भने गतिलो सुरुआत गरेको हो । दोस्रो संस्करणमा आर्मीले छनोट प्रतियोगिता खेलेको थियो र त्यसको उपाधि जित्दै एचजेएनबीएलमा छनोट भएको थियो ।

Army and Golden Gate win in basketball league

दोस्रो खेलमा गोल्डेनगेट क्लबले साबिक विजेता टाइम्स क्लबलाई ९२–७५ पराजित गरेको छ । पहिलो संस्करणको फाइनलमा टाइम्सले गोल्डेनगेटलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।

टाइम्सले पहिलो क्वाटरमा २५–१८ को अग्रता बनाएर राम्रो सुरुवात गरेको थियो । तर गोल्डेनगेटले दोस्रो क्वाटर २५–१९ र तेस्रो क्वाटर ३०–१० ले आफ्नो पक्षमा पार्दै ७३–५४ को अग्रता बनायो । चौथो क्वाटर टाइम्सले २१–१९ ले पारे पनि जित हासिल गर्न पर्याप्त भएन ।

खेलमा गोल्डेनगेटका निकेश मगरले सर्वाधिक ३७स्कोर गरे । उनी मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

बास्केटबल लिगको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले उद्घाटन गरे ।

कान्तिपुर

Link copied successfully