माथिल्लो मूलपानी क्रिकेट मैदानमा ललितपुरले भक्तपुरलाई २३ रनले पराजित गर्यो । ओपनर रोनिम तिवारीले ८९ रन बनाएपछि ललितपुरले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ६६ रन बनायो ।
काठमाडौँ — काठमाडौं र ललितपुर जिल्लाले प्रधानमन्त्री कप बाग्मती प्रदेश पुरुष क्षेत्रीय प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेका छन् । इशान पाण्डेको सानदार अलराउन्ड प्रदर्शनमा काठमाडौंले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा नुवाकोटलाई ५९ रनले पराजित गर्यो ।
कप्तान इशानले ९५ रन बनाएपछि टस जितेर ब्याटिङ रोजेको काठमाडौंले ४८ ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाई २ सय ४५ रन बनायो । काठमाडौंले सुरुको ५ ओभरमा ३१ रन बनाउदा रविन जोशी (१०), रित गौतम (१०) र प्रसिद्ध जैसी (०) लाई गुमाइसकेको अवस्थामा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फिर्ता बोलाइएका इशानले सानदार ब्याटिङ गरेका थिए ।
उनले ८४ बल खेलि ११ चौका र २ छक्का प्रहार गरे । उनले उत्तम थापामगरसँग चौथो विकेटमा १ सय २१ रनको साझेदारी गरे । उत्तमले ७६ बल खेलि ३ चौका प्रहार गर्दै ३६ रन बनाए । सोनु देवकोटा २३ बल खेलि १ छक्का प्रहार गरि २१, अभिषेक बुढाऐर १, सुमन विक ३५ बल खेलि समान १ चौका र छक्का प्रहार गरि २३, सन्दीप पराजुली ४० बल खेलि २ चौका प्रहार गरि १९ रनमा आउट भए ।
दयानन्द मण्डल ६ र आदित्य थापा २ रनमा अविजित रहे । नुवाकोटका इशान पालीले ४ विकेट लिए । उनले ८ ओभरमा ५२ रन खर्चेका थिए । अफजल मन्सुरले १० ओभरमा ३३ रन खर्चेर ३ र विधान खतिवडाले १० ओभरमा ६४ रन खर्चेर २ विकेट लिए ।
जबाफमा आएको नुवाकोटले ९ विकेट गुमाई १ सय ८६ रनमात्र बनाउन सक्यो । दिनेश सुवेदीले सर्वाधिक ५६ रन बनाए । उनले ९५ बल खेलि ४ चौका प्रहार गरे । अनुभव खनालले ४२ बल खेलि ७ चौकासहित ३९, कप्तान राजेश रिमालले १५, गणेश गौतमले १४ रन बनाए । विधान ६३ बल खेलि २ चौका प्रहार गरि २३ रनमा अविजित रहे ।
ब्याटिङसहित इशान बलिङमा पनि चम्किएका थिए । प्लेयर अफ द म्याच उनले ९ ओभरमा १ मेडन राख्दै १९ रनमात्र खर्चेर ५ विकेट लिए । दयानन्दले ६ ओभरमा ३५ र सोनुले १० ओभरमा ४० रन खर्चेर २–२ विकेट लिए ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा ललितपुरले भक्तपुरलाई २३ रनले पराजित गर्यो । ओपनर रोनिम तिवारीले ८९ रन बनाएपछि ललितपुरले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ६६ रन बनायो । प्लेयर अफ द म्याच ओपनर रोनिमले ९९ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गरे ।
रोनिमले कप्तान आशुतोष घिरैयासँग पहिलो विकेटमा ११ ओभरमा ६८ रन जोडेर ललितपुरलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । आशुतोषले ३३ बल खेलि ५ चौकासहित २८ रन बनाए । आदिल खानले २२, सचिन लेखकले ५१ बलमा ३ चौकासहित ३०, विवेक रानामगरले ३१ बलमा ३ चौका र १ छक्कासहित २७, सूर्य तामाङले ७ बलमा ३ छक्कासहित २० रन बनाए । विपिन आचार्य १० बल खेलि १ चौकासहित ११ रनमा अविजित रहे ।
भक्तपुरबाट विशाल साह कानुले ३ विकेट लिए । उनले ६ ओभरमा ४७ रन खर्चेका थिए । सक्रियप्रताप कार्की र सुवास खत्रीले २ तथा शिवम तिवारीले १ विकेट लिए । सक्रियले ५ ओभरमा ४७ र सुवासले १० ओभरमा ४४ रन खर्चे ।
जबाफमा क्रिस कार्कीले ९३ रन बनाए पनि भक्तपुर ४९.२ ओभरमा २ सय ४३ रनमा अलआउट भयो । पाँचौं नम्बरमा ब्याटिङ गरेका क्रिसले ८२ बल खेलि समान ४ चौका र छक्का प्रहार गरे । ओपनर सौरभ साखकर्मीलाई शुन्यमै गुमाएको भक्तपुरबाट अर्का ओपनर रिङजिन लामाले ४१ रन बनाए । उनले ५७ बल खेलि ६ चौका प्रहार गरे ।
सुवास ६० बल खेलि ३ चौकासहित ३७, शिवम ३७ बल खेलि २ चौका प्रहार गरि २५, विशाल देवकोटा र अभिनाश बस्याल समान १० रनमा आउट भए । ललितपुरका पंकज पाण्डेले ३ विकेट लिए । उनले ९ ओभरमा ४३ रन खर्चे । तिलकराज भण्डारीले १० ओभरमा ३८ र सूर्यले ५८ रन खर्चेर २–२ तथा विपिन, रोनिम र विवेकले १–१ विकेट लिए ।
