एन्फामा अनिश्चितकालीन तालाबन्दी

आफ्नो माग पूरा नभएसम्मका लागि तालाबन्दी नरोकिने खेलाडी संघका अध्यक्ष विक्रम लामाले बताएका छन्

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

ANFA's indefinite lockdown

काठमाडौँ — काठमाडौं (कास)– नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित कार्यालयमा आइतबार अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

आफ्नो माग पूरा नभएसम्मका लागि तालाबन्दी नरोकिने खेलाडी संघका अध्यक्ष विक्रम लामाले बताएका छन् । त्यस अगाडि विभिन्न माग राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सातदोबाटो पुगेका थिए ।

तर वार्ताका लागि एन्फा नेतृत्व त्यहाँ थिएनन् । त्यसपछि तालाबन्दी गरिएको हो । हजार दिनभन्दा बढी समयदेखि हुन नसकेको सहिद स्मारक लिग ए डिभिजनको आयोजना निश्चितता, खेलाडी अक्षय कोषबारे जानकारी तथा खेलाडीले पाउन बाँकी पुरस्कार राशिबारे कुराकानी गर्न खेलाडी संघ एन्फा पुगेको थियो ।

अध्यक्ष लामाका अनुसार एन्फासँग अक्षय कोषको विवरण माग गरिएको छ । यस्तै खेलाडीले सन् २०१७ देखि पाउनुपर्ने पुरस्कार राशि पनि पाएका छैनन् । सहिद स्मारक लिग ए डिभिजन भने आयोजना भएको तीन वर्षभन्दा बढी भइसकेको छ । अध्यक्ष लामाले भनेका छन्, ‘जहिलेसम्म हाम्रो माग सम्बोधन हुन्न, तालाबन्दी खुल्ने छैन ।’

कान्तिपुर

Link copied successfully