टोटनहमले आफ्नो घरेलु मैदानमा भएको खेलमा डोमिनिक सोलान्कीको गोलले अग्रता लिएको थियो ।
लन्डन — टोटनहम इंग्लिस प्रिमियर लिगमा बिहीबार क्रिस्टल प्यालेससँग नमज्जाले ३–१ पराजित रह्यो, तर पनि प्रशिक्षक इगोर टुडोरलाई लाग्छ, उनको उत्तरी लन्डन क्लब रेलिगेसनबाट बच्नेछ । टोटनहमले आफ्नो घरेलु मैदानमा भएको खेलमा डोमिनिक सोलान्कीको गोलले अग्रता लिएको थियो ।
तर इस्माइल सारमाथि अनावश्यक फल गर्ने क्रममा मिकी भान डे भेन रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । त्यसपछि खेल प्यालेसको पक्षमा मोडियो । त्यही फलमा सबैभन्दा पहिले सारले नै पेनाल्टीबाट गोल गरे । त्यसपछि जार्गेन स्ट्रान्ड लारसेनले दोस्रो गोल थपे भने तेस्रो गोल सारकै नाममा रह्यो ।
यो नतिजापछि टोटनहम १६ औं स्थानमा रह्यो र यो रेलिगेसन क्षेत्रबाट खालि एकै अंक मात्र अगाडि हो । टोटनहम घरमा भएका आफ्ना पछिल्ला १३ खेलमध्ये एकैमा मात्र विजयी रहेको छ । यस्तोमा सन् १९७७/१९७८ यता पहिलो पटक टोटनहममाथि डर उत्पन्न भएको छ, दोस्रो डिभिजनमा खेल्नुपर्ने ।
टुडोर अहिले पनि अन्तरिम प्रशिक्षक मात्र हुन्, तर उनलाई पनि बर्खास्त गर्नुपर्छ भन्ने आवाज सुनिन थालेको छ । थोमस फ्रान्कलाई बर्खास्त गरेपछि उनी प्रशिक्षकको भूमिकामा आएका थिए र त्यसयता सबै तीन खेलमा टोटनहम पराजित रहेको छ । तर क्रोएसियाका यी प्रशिक्षक के दाबी गर्छन् भने प्यालेसविरुद्ध दोस्रो हाफमा टोटनहमले जसरी खेलेको थियो, त्यसले भन्छ, टोटनहम टुटेको छैन, अझै गर्ने पक्षमा छ ।
उनको खेललाई लिएर विश्लेषण रहेको छ, ‘यो एकै खेलमा दुई भाग रहे । रातो कार्डपछि खेल अर्कै भयो । तर हामीले दोस्रो हाफमा सक्दो प्रयास गरेका थियौं । सबै क्लब समर्थक जस्तै नतिजालाई लिएर म निकै निराश छु । पक्कै पनि हामीलाई अझै धेरै कडा मिहिनेत गर्नुपर्ने हुन्छ । मैले यस्तो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ, तर यो हारपछि मलाई टिममाथि बढी विश्वास जागेको छ । यस्तै मनसाय हारपछि ड्रेसिङ रुममा पनि देखियो ।’
लिगका पछिल्ला नौ खेलमा टोटनहमले क्लब इतिहासमै पहिलो पटक दुई अथवा त्योभन्दा बढी गोल खर्चेको छ । यस्तै टोटनहम पछिल्ला पाँच खेलमा लगातार पराजित रहेको छ । अनि १९७५ यता टोटनहमले माथिल्लो डिभिजनका लगातार ११ खेलमा कुनै जित निकाल्न सकेको छैन । यी सबै तथ्यांकलाई अहिले बेवास्ता गर्ने मनसायमा छन्, टुडोर । उनले टिममा अझै शक्ति, आशा र संघर्ष बाँकी रहेको मान्छन् ।
जति बेला उनलाई क्लबको जिम्मेवारी दिइएको थियो, टुडोर भन्थे, टोटनहम शतप्रतिशत रेलिगेसनबाट बच्नेछ । तर लन्डनकै टोलीहरू आर्सनल, फुलहम र अहिले प्यालेसविरुद्धका खेल गुमाएपछि स्थिति वास्तवमै नाजुक बनेको छ । १९५० यता टोटनहम जम्माजम्मी एकै सिजन मात्र माथिल्लो डिभिजनबाट बाहिर रहेको छ । अब उसका सामु घटुवा हुनबाट जोगिन नौ खेल उपलब्ध छन्, जसमध्ये पहिलो मार्च १५ मा लिभरपुल भ्रमण रहेको छ ।
त्यसपछि उसको अगाडि सबैभन्दा निर्णायक खेल रहनेछ, रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको नटिंघम फरेस्टविरुद्धको खेल । टोटनहमका स्ट्राइकर सोलान्की पनि के मान्छन् भने प्यालेसविरुद्धको खेललगत्तै खेलाडीबीच ‘क्राइसिस’ बैठक बसेको थियो । उनले थपे, ‘त्यसमा हामीले धेरै लामो कुरा गरेका छौं । हामी अहिले त्यो स्थितिमा छौं, जहाँ हामी पक्कै पनि हुन चाहन्नौं । अहिले हामी सक्दो त्यही स्थितिबाट बाहिर आउन चाहन्छौं । थाहा छ, यो सजिलो पनि छैन ।’
