अब भारतले उपाधिको भिडन्तमा आइतबार न्युजिल्यान्डको सामना गर्नेछ । अहमदावाको नरेन्द्र मोदी स्टेडियममा हुने त्यस उपाधिको भिडन्तमा भारतसामु डिफेन्डिङ च्याम्पियनका रूपमा पहिलो पटक उपाधि रक्षा गर्ने टिम बन्ने अवसर छ ।
मुम्बई — ओपनर सन्जु सामसन त्यस्तो एउटा अर्को इनिङ्स खेल्न चाहन्छन्, जसले भारतलाई टी–२० विश्वकपको उपाधि दिलाओस् । भारतले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दा उनको ८९ रन निर्णायक जस्तै रह्यो । त्यसक्रममा उनले ४२ बलको मात्र सामना गरे ।
इंग्ल्यान्डका लागि ज्याकोब बेथेलले शतक बनाए, तर टिम सात रनले पराजित रह्यो । अब भारतले उपाधिको भिडन्तमा आइतबार न्युजिल्यान्डको सामना गर्नेछ । अहमदावाको नरेन्द्र मोदी स्टेडियममा हुने त्यस उपाधिको भिडन्तमा भारतसामु डिफेन्डिङ च्याम्पियनका रूपमा पहिलो पटक उपाधि रक्षा गर्ने टिम बन्ने अवसर छ ।
त्यति मात्र होइन, भारत यो काममा सफल रहे, प्रतियोगिताको इतिहासकै सबैभन्दा सफल टिम हुनेछ, तीन पल्टको विजेताका रूपमा । प्रतियोगिता अगाडि नै उपाधिको बलियो प्रत्याशी रहेको भारतका लागि सामसन अहिले मुख्य खेलाडी सावित भएका छन् ।
उनले नै वेस्ट इन्डिजविरुद्धको सुपर एटको निर्णायक खेलमा अविजित ९७ रन बनाएका थिए, त्यो पनि अविजित रहेर । इंग्ल्यान्डविरुद्ध उनले ८ चौका र ७ छक्का प्रहार गरे । उनी भन्छन्, ‘अहिले निकै खुसी छु, मैले आफ्नो देशका लािग यस्तो खेल प्रदर्शन गर्ने सपना देखिरहेको पनि केही वर्ष भइसकेको छ । त्यसैले म निकै आभारी पनि छु, तर मलाई लाग्छ, हामीलाई अझै एक निर्णायक पाइला चाल्नु छ ।’
उनी थप्छन्, ‘वास्तवमै त्यस्तो भयो भने मात्र अहिले हामीले गरेका सबै कामको अर्थ हुन्छ । त्यसैले म चाहन्छु, यस्तै एउटा अर्को खेल जित्ने इनिङ्स खेल्न सकोस् ।’ भारतीय टिममा आउने जाने क्रमबाट गुज्रिरहेका ३१ वर्षीय सामसनले प्रतियोगिताको समूह चरणमा एकै खेल मात्र खेलका थिए, नामिबियाविरुद्ध । त्यो पनि अभिषेक शर्मा बिरामी भएपछि । भारतले जिम्बावेविरुद्ध सुपर एटको खेलमा सामसनलाई फेरि अवसर दिएको थियो ।
यसको कारण थियो, भारतका लागि दुवै बायाँ हाते ब्याटर अभिषेक र इसान किसनको जोडीले लय समात्न सकिरहेको थिएन् । सन् २०१५ मै भारतका लागि डेब्युको अवसर पाएका सामसनले अहिलेसम्म ६१ टी–२० खेल खेलेका छन् । उनी के पनि मान्छन् भने भारतीय टिममा नियमित अवसर नपाएपछि उनलाई अझ मिहिनेत गर्न प्रेरित गरेको छ । तर उनी सामाजिक सञ्जालको माध्यमबाट कुनै प्रकारको आक्रोश भने पोख्न चाहेनन् ।
‘म भारतीय टिमका लागि निर्णायक सावित हुने खेलको प्रतीक्षामा थिएँ । जतिले मलाई माया गर्छन्, ती सबै गाह्रो दिनमा पनि मेरै साथमा थिए । त्यसक्रममा मैले आफ्नो झ्याल सबै बन्द राखें, फोन पनि बन्द राखें, म त अझ सामाजिक सञ्जालमा थिइनँ नै । म अझै पनि सामाजिक सञ्जालमा छैन । त्यसले मलाई हल्लाबाट जोगाएको छ । धेरै कमले मात्र मसँग कुराकानी गर्न पाएको छ । मलाई लाग्छ, यसले अन्ततः मलाई नै फाइदा गरेको पनि छ ।’
