दक्षिण अफ्रिका र न्युजिल्यान्ड बुधबार कोलकातामा पहिलो सेमिफाइनलमा भिड्दै छन् । दुवै टोलीले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन् ।
कोलकाता — दक्षिण अफ्रिकाका कप्तान एडेन मारक्रमले समूह चरणमा न्युजिल्यान्डविरुद्ध विजय हात पारेको खेलले ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा कुनै अर्थ नराख्ने जनाउँदै यो खेल ‘पूर्ण रूपमा नयाँ सुरुआत’ भएको बताएका छन् ।
दक्षिण अफ्रिका र न्युजिल्यान्ड बुधबार कोलकातामा पहिलो सेमिफाइनलमा भिड्दै छन् । दुवै टोलीले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन् । सेमिफाइनल पुगेका चार टोलीमा दक्षिण अफ्रिका प्रतियोगिताको एकमात्र अपराजित टोली हो । टोलीले फेब्रुअरी १५ मा अहमदाबादमा भएको समूह चरणको खेलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो ।
‘समूह चरणको खेलमा हामीले उनीहरूविरुद्ध राम्रो खेलेका थियौं, तर त्यसयता दुवै टोलीले धेरै खेल खेलिसकेको छ,’ कप्तान मारक्रमले भने, ‘सेमिफाइनल पूर्ण रूपमा नयाँ खेल हुनेछ र फाइनल पुग्ने अवसर रहेकाले यो रोमाञ्चक पनि हुनेछ । त्यसैले समूह चरणकै खेल हुने जस्तो मलाई लाग्दैन । हामी आफ्नो उत्कृष्ट खेल दिने छौं ।’ उनले अगाडि भने, ‘हामी दाबेदार हौं कि होइनौं भन्ने त्यो फरक मान्छेका आ–आफना विचार हुन् । हामी राम्रो खेल खेल्न केन्द्रित छौं, त्यो यस्तो खेल हो, जुन हामी पछिल्लो १८ महिनादेखि खेल्ने प्रयास गर्दै आएका छौं ।’ मारक्रमको कप्तानीमा
दक्षिण अफ्रिकाले विश्वकपमा १६ मध्ये १५ खेल जितेको छ । एकमात्र हार दुई वर्षअघिको विश्वकप फाइनलमा भारतसँग रहेको थियो ।
‘टिममा सिनियर खेलाडीहरू छन्, हामी उनीहरूमाथि निर्भर छौं । केही संकोच रहेमा उनीहरूले मागदर्शन गर्न मद्दत गर्छन्,’ मारक्रमले भने, ‘मलाई लाग्छ, त्यसले गर्दा हामीले केही वर्षयता राम्रो टिम निर्माण गर्न सक्षम भएका छौं । भाग्यवश त्यो लागू भइरहेको छ, टोलीभित्र पनि प्रयोगमा छ ।’
