अस्ट्रेलियाको नेपाली समुदायको ठूलो पुरस्कार राशिको प्रतियोगिता मानिएको यो प्रतियोगिता यही मार्चको ७ र ८ तारिखमा आयोजना हुने भएको छ ।
अस्ट्रेलिया — अस्ट्रेलियाको मेलबर्नमा १५ औं संस्करणको कँडेल कन्सल्टेन्सी कप आयोजना हुने भएको छ । अस्ट्रेलियाको नेपाली समुदायको ठूलो पुरस्कार राशिको प्रतियोगिता मानिएको यो प्रतियोगिता यही मार्चको ७ र ८ तारिखमा आयोजना हुने भएको छ । प्रतियोगिता मेलबर्नको डारेबिन इन्टरनेसनल स्पोर्ट्स सेन्टरमा सञ्चालन हुनेछ ।
यस प्रतियोगितामा ‘ओपन एज’ र ‘३५ वर्ष माथि (फरेभर योङ)’ गरी दुई विधामा प्रतिस्पर्धा गरिनेछ । सिड्नी, क्यानबेरा र एडिलेडलगायत अस्ट्रेलियाका विभिन्न सहरबाट टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । एक विशेष समारोहबीच प्रतियोगिताको अफिसियल ‘ड्र’ सार्वजनिक गरिएको छ । ओपन क्याटेगोरीतर्फ सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा होमवुस राइनो फुटबल क्लब (सिड्नी), खुकुरी फुटबल क्लब (क्यानबेरा), नेपवोर्न फुटबल क्लब र यती फुटबल क्लब रातो रहेका छन् भने समूह ‘बी’ मा सिद्धकाली (एडिलेड), युनाइटेड फुटबल क्लब, रोयल फुटबल क्लब र हिमालयन फुटबल क्लब परेका छन् । यसैगरी समूह ‘सी’ मा एभरेस्ट युनाइटेड, रोयल वेस्टर्न, एनी र चन्द्रसूर्य फुटबल क्लब रहेका छन् भने समूह ‘डी’ मा यती ब्लु, जगजित श्रेष्ठ एकेडेमी (एडिलेड), द हिमालयन टाइगर्स र हिमालयन युथ क्लब (सिड्नी) रहेका छन् ।
लिग कम नकआउट प्रणालीका आधारमा सञ्चालन हुने यो प्रतियोगिता अस्ट्रेलियामा नेपाली क्लबहरूबीचको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता भएको बताइएको छ । ओपन क्याटेगोरीतर्फ विजेताले १२ हजार डलर र उपविजेताले ४ हजार ५ सय डलर नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । ‘फरेभर योङ’ विधातर्फ विजेताले २ हजार ५ सय डलर र उपविजेताले १ हजार डलर पुरस्कार पाउनेछन् । साथै विभिन्न व्यक्तिगत विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि २२ हजार अस्ट्रेलियन डलर रहेको आयोजकले जनाएको छ ।
गत वर्ष सम्पन्न १४ औं संस्करणको फाइनलमा यती फुटबल क्लबले रोयल वेस्टर्न क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगितामा नेपालका राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका चर्चित खेलाडीहरूको पनि सहभागिता रहनेछ । प्रतियोगिताले अस्ट्रेलियामा रहेका नेपाली समुदायबीच आपसी भाइचारा र एकताको भावना अभिवृद्धि गर्ने यती फुटबल क्लबका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक सज्जन शर्माले विश्वास व्यक्त गरे ।
