बेल्जियमको लिगमा जनकपुर बोल्ट्सको स्वामित्व

बेल्जियमा जुन ६ देखि १४ देखि हुने प्रतियोगितामा जेबी ब्रुजेजको स्वामित्व लिएको टोलीका प्रमुख उत्सव सिग्देलले मंगलबार जनाएका छन् ।

फाल्गुन १९, २०८२

कान्तिपुर संवाददाता

Ownership of Janakpur Bolts in the Belgian league

What you should know

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स (जेबी) ले बेल्जियमको इयू टी–२० मा फ्रेन्चाइज लिएको छ । बेल्जियमा जुन ६ देखि १४ देखि हुने प्रतियोगितामा जेबी ब्रुजेजको स्वामित्व लिएको टोलीका प्रमुख उत्सव सिग्देलले मंगलबार जनाएका छन् । 

नेपाली खेलाडीलाई प्राथमिकतामा राख्ने उद्देश्यसहित बेल्जियम क्रिकेट लिगको फ्रेन्चाइज लिएको अमेरिकाबाट उनले बताए । ‘नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा मौका दिलाउने अवसर र विदेशी खेलाडीलाई पनि नेपाली क्रिकेटसँग जोडिने अवसर प्रदान गर्ने विश्वास हामीले राखेका छौं,’ सिग्देलले कान्तिपुरसँग भने । 

पहिलो सिजनमा १० लाख डलर खर्च हुने उनको अनुमान छ । उनका अनुसार वेस्ट इन्डिजका शिवनारायण चन्द्रपाल नै टोलीको प्रशिक्षकमा रहनेछन् । जनकपुर बोल्ट्सले एनपीएलको पहिलो सिजन जितेको थियो भने चन्द्रपालको प्रशिक्षणमा दोस्रो सिजनमा १ खेलमात्र जितेर पुछारमा थियो । 

बेल्जियम क्रिकेटले ईयू टी–२० खेल्ने टोलीमध्येमा जेबी ब्रुजेजसहित एन्टवर्प एन्कर्स, लिइज रेड लायन्सको घोषणा गरिसकेको छ । ब्रसेल्स, घेन्ट र लुभेनको प्रवर्द्धकको घोषणा हुन बाँकी छ । डेस्टिनो लिजेन्ड स्पोर्ट्सले क्रिकेट बेल्जियमसँगको सहकार्यमा यो प्रतियोगिता आयोजना गर्दै छ । 

इंग्ल्यान्डका विश्वकप विजयी कप्तान इयान मोर्गन प्रतियोगिताको ब्रान्ड एम्बासडरमा छन् । श्रीलंका एन्जेलो म्याथ्युज, वानिन्दु हसरंगा, दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस, रसी भान डेर डुसेन, रिजा हेन्ड्रिक्स, न्युजिल्यान्डका टिम साउथी, इंग्ल्यान्डका जेम्स भिन्स र एलेक्स हेल्सले प्रतियोगितामा सहभागिता जनाउन निश्चित गरिसकेका छन् । 

एउटा टोलीमा १६ खेलाडी हुनेछ । त्यसमध्ये ४ जना बेल्जियमको खेलाडी हुनुपर्नेछ ।  कम्तीमा एक बेल्जियम खेलाडी प्लेयिङमा खेल्नुपर्ने प्रावधान छ । हरेक दिन २ खेल हुनेछ । सिंगल राउन्ड रोबिनपछि ९ दिनको प्रतियोगितामा प्लेअफ र फाइनल हुनेछ । 

नेपालबाट १६ खेलाडी ईयू टी–२० को ड्राफ्ट लिस्टमा समेटिएको जनाइएको छ । 

कान्तिपुर

Link copied successfully