मातृभूमि स्कुलद्वारा आयोजित प्रतियोगिताको शनिबार फाइनलमा जेम्सले अक्षरालाई ३ रनले हरायो । अक्षरा पनि कुनै खेल नगुमाई फाइनल पुगेको थियो ।
What you should know
काठमाडौँ — अपराजित रहँदै जेम्सले टी–१० प्रथम मातृभूमि अन्तरविद्यालय यू–१४ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
मातृभूमि स्कुलद्वारा आयोजित प्रतियोगिताको शनिबार फाइनलमा जेम्सले अक्षरालाई ३ रनले हरायो । अक्षरा पनि कुनै खेल नगुमाई फाइनल पुगेको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकास्थित वान डे क्रिकेट एकेडेमीमा पहिले ब्याटिङ गरेको जेम्सले १० ओभरमा ९ विकेट गुमाएर ६४ रन बनाएको थियो । प्लेयर अफ द म्याच कप्तान विदुस नेपालले २०, दीक्षान्त मिश्रले १६ र आरभ गुप्ताले ८ रन जोडे । अक्षराका हार्दिक न्यौपानेले ह्याट्रिक विकेट लिएका थिए भने अभिक अछामीले २, कप्तान रिजेन बस्नेत र लक्ष्यजित मल्लले १–१ विकेट लिए ।
प्रत्युत्तरमा अक्षरा १० ओभरमा ६ विकेट क्षतिमा ६१ रनमा समेटियो । रिजेन बस्नेतले २२, नियोल राउतले १६ र लक्ष्यजित मल्लले १४ स्कोर गरे । जेम्सका विदुस नेपालले २, सुभन शाह, प्रागभ पाण्डे र अविर लामिछानेले १–१ विकेट लिए ।
शनिबारै सेमिफाइनलमा अक्षराले विश्वज्ञानलाई ८ विकेट र जेम्सले ग्यालेक्सी पब्लिकलाई २९ रनले हराएका थिए । जेम्सले ५० हजार र उपविजेता अक्षराले २५ हजार रुपैयाँ पुरस्कार पाए ।
अक्षराका रिजेन बस्नेत प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले माउन्टेन बाइक पुरस्कार पाए । ग्यालेक्सीका मिङ्मा तामाङ उत्कृष्ट ब्याटर चुनिए । उनले ब्याट उपहार पाए । उत्कृष्ट बलर बनेका जेम्सका प्रागभ पाण्डेले जुत्ता पुरस्कार हात पारे । विजेतालाई मातृभूमिका को–ओर्डिनेटर जयराम अधिकारीलगायतले पुरस्कृत गरे ।
