अभिषेकको यशपालविरुद्ध चार घन्टा प्रतिस्पर्धा

बेंगलुरुको रोहन बोपरा टेनिस एकेडेमीको हार्डकोटमा लगातार दुई खेल जितेका अभिषेक भारतीय नीरज यशपालसँग ३ घन्टा ५७ मिनेट प्रतिस्पर्धा गर्दै २–१ को सेटमा पराजित भएका थिए ।

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

Abhishek competes against Yashpal for four hours

काठमाडौँ — नेपाली टेनिस खेलाडी अभिषेक बास्तोलाले भारतको बेंगलुरुमा भइरहेको युटीआर प्रो टेनिस प्रतियोगिताको सेमिफाइनलको पहिलो प्लेअफमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

बेंगलुरुको रोहन बोपरा टेनिस एकेडेमीको हार्डकोटमा लगातार दुई खेल जितेका अभिषेक भारतीय नीरज यशपालसँग ३ घन्टा ५७ मिनेट प्रतिस्पर्धा गर्दै २–१ को सेटमा पराजित भएका थिए । अभिषेकले २–६ ले पहिलो सेट गुमाएर दोस्रो सेटमा पुनरागमन गर्दै ७–५ ले सेट आफ्नो पक्षमा पारेर खेल बराबरीमा ल्याए । निर्णायक बनेको तेस्रो सेटमा १ घन्टा ४१ मिनेट प्रतिस्पर्धा गर्नुका बावजुद अभिषेकले ७–६ (९/७) ले गुमाएका थिए । गत नोभेम्बरमा बेंगलुरुमै अभिषेकले यशपाललाई सोझो सेटमा हराएका थिए ।

यसअघि समूह ‘सी’ भारतका जतिन नैन र तरुण कर्रालाई सोझो सेटमा हराएका अभिषेकले रुसी खेलाडी अर्टेम बोगोमोलोभविरुद्धको खेल पनि सोझो सेटमा गुमाएका थिए । अब उनले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् ।

युटीआर प्रो टेनिस टुरअन्तर्गत हुने २० हजार अमेरिकी डलर पुरस्कार राशिको यो प्रतियोगिता अभिषेकका लागि सिजनको पहिलो स्पर्धा हो । यसअघि उनले डिसेम्बरमा भियतनाममा पीटीटी फान थिएटमा प्रतिस्पर्धा गरेका थिए । यस टुरमा अभिषेकले झन्डै डेढ दर्जन प्रतियोगिता खेलिसकेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully