विश्वकप खेलेका दुई क्रिकेटरलाई १ लाख १ हजारसहित सम्मान

क्रिकेटर लोकेश बम र शेर मल्ललाई कलेजको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार जनही १ लाख १ हजार रुपैयाँसहित ‘एसपीए सम्मान’ प्रदान गरिएको हो ।

फाल्गुन १५, २०८२

टेकराज जोशी

Two cricketers who played in the World Cup were honored with Rs 101,000 each.

धनगढी — आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका सुदूरपश्चिमका दुई क्रिकेटरलाई एसपीए कलेजले नगदसहित सम्मान गरेको छ ।

क्रिकेटर लोकेश बम र शेर मल्ललाई कलेजको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार जनही १ लाख १ हजार रुपैयाँसहित ‘एसपीए सम्मान’ प्रदान गरिएको हो ।

उनीहरूलाई शिक्षाविद् डा. हेमराज पन्त र कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले दोसल्ला ओढाएर सम्मान व्यक्त गरे । लोकेश कलेजका विद्यार्थी र शेर ब्रान्ड एम्बासडर हुन् ।

Two cricketers who played in the World Cup were honored with Rs 101,000 each.

विश्वकपमा दुवै खेलाडीको प्रदर्शन उल्लेखनीय रह्यो । इंग्ल्यान्डविरुद्ध लोकेशले २० बलमा ४ चौका र २ छक्कासहित ३९ रन इनिङ्स खेल्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । आफ्नो अन्तर्राष्ट्रिय डेब्यु खेलको पहिलो बलमै शेर मल्लले विकेट लिएका थिए  ।

लोकेशले एसपीए कलेजमा अध्ययनरत रहँदा अनुशासन र मिहिनेतका साथ अघि बढ्न पाएको अनुभव सुनाए । उनले विद्यार्थीलाई आफ्नो लक्ष्यप्रति समर्पित रहन सुझाए । लोकेशकी आमाले छोराको उपलब्धिप्रति गर्व व्यक्त गर्दै कलेज परिवारलाई धन्यवाद दिइन् । एसपीए कलेजमा हाल दुई दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी आबद्ध छन् । कलेजले आफ्नो क्षमतामार्फत समाज र राष्ट्रलाई योगदान पुर्‍याउने व्यक्तित्वलाई ‘एसपीए सम्मान’ प्रदान गर्दै आएको जनाएको छ ।

टेकराज जोशी कान्तिपुरका धनगढी संवाददाता हुन्।

Link copied successfully