उपाधिसँगै न्यु होराइजन ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ
What you should know
भैरहवा — न्यु होराइजन कलेजले जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेटको उपाधि हात पारेको छ । भैरहवामा सम्पन्न फाइनलमा नेपथ्य कलेजलाई ४४ रनले पराजित गर्दै न्यु होराइजनले उपाधि जितेको हो ।
उपाधिसँगै न्यु होराइजन ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको नेपथ्यले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनलमा टस जितेर ब्याटिङमा आएको न्यु होराइजनले १९ ओभर ५ बलमा सबै विकेट गुमाउादै १ सय १४ रन बनायो । उसका लागि आरिफ खानले ३५, महेश भरले २४, प्रिन्स पालले १६ र अमर मिश्राले १२ रन बनाए । बलिङमा नेपथ्यका प्रविण ढकालले ३, लक्ष्मण कुमालले २ तथा रोशन बश्याल, सन्दीप यादव, आरिफ खान र प्रतीक भट्टराईले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको नेपथ्यले १७ ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ७० रन बनायो र हार बेहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका शुभम पाण्डेले ४, विप्रसन केसीले ३ तथा महेश भर, प्रिन्स पाल र शुभम खनालले १–१ विकेट लिए । नेपथ्यका सन्दीप यादवले २९ तथा जसिम खान र लक्ष्मण कुमालले समान ११–११ रन बनाए । शुभम पाण्डे प्लेयर अफ द फाइनल भई एक हजार रुपैयाा प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सम्पन्न प्रतियोगितामा रुपन्देही क्याम्पसका सन्तोष यादव म्यान अफ द सिरिज भई १० हजार रुपैयाँ पुरस्कार पाए । यस्तै, बुटवल कालिकाका प्रज्वल थापा बेस्ट ब्याटर र प्यारामाउन्ट कलेजका आशुतोष पाण्डे बेस्ट बलर घोषित भए । उनीहरू जनही ५–५ हजार रुपैयाँ पाए । यस्तै, प्रतियोगितामा भैरहवा नमुना कलेज अनुशासित टिम हुन सफल भयो ।
