आयोजक एलएकै हातामा भएको प्रतियोगितामा फुटबल, फुटसल, भलिबल, बास्केटबल र टेबलटेनिस गरी ५ खेलमा तीन सामुदायिकसहित २२ विद्यालयको सहभागिता थियो ।
काठमाडौँ — लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप शुक्रबार सकिएको छ ।
आयोजक एलएकै हातामा भएको प्रतियोगितामा फुटबल, फुटसल, भलिबल, बास्केटबल र टेबलटेनिस गरी ५ खेलमा तीन सामुदायिकसहित २२ विद्यालयको सहभागिता थियो ।
ब्वाइज फुटसलको उपाधि एलए ‘ए’ ले जित्यो । एलएले फाइनलमा आफ्नै ‘बी’ टिमलाई ६–० गोलले हरायो । विजेताका आयुश थापा उत्कृष्ट खेलाडी, रायन मोक्तान उत्कृष्ट गोलरक्षक र प्रणव बोगटी सर्वाधिक गोलकर्ता बने ।
ब्वाइज फुटबलमा लोयल्टी एकेडेमीले फाइनलमा एलए ‘ए’ लाई २–१ गोलले हराएर ट्रफी जित्यो । लोयल्टीका साहिल राई उत्कृष्ट खेलाडी र समर्पण सेढाईं उत्कृष्ट गोलरक्षक चुनिए । एलए ‘ए’ का स्मिथ रावत सर्वाधिक गोलकर्ता भए ।
ब्वाइज भलिबलमा वैष्णवी पहिलो भयो । फाइनलमा वैष्णवीले माउन्ट ओलिभलाई २५–२०, २५–२२ को सोझो सेटमा हरायो । वैष्णवीका रविन नागरी उत्कृष्ट खेलाडी चुनिए ।
बास्केटबलमा पुष्पसदनले दोहोरो उपाधि जित्यो । ब्वाइज फाइनलमा पुष्पसदनले एलएलाई २७–१७ स्कोरले पराजित गर्यो ।
गर्ल्सको उपाधि भिडन्तमा पुष्पसदनले ज्ञानोदयमाथि १८–१५ को जित दर्ता गर्यो । ब्वाइजमा पुष्पसदनका सम्राट लामा र गर्ल्समा पुष्पसदनकै निधि ठगुन्ना ‘मोस्ट भ्यालुएबल प्लेयर’ चुनिए ।
विजेतालाई एलएका निर्देशक राजेश श्रेष्ठ, नेपाल जिम्न्याष्टिक संघका महासचिव तथा एलएका प्रिन्सिपल मुकुन्दराज शर्मालगायतले पुरस्कृत गरे ।
