शतप्रतिशत जित निकालेको अक्षरा ६ अंकसाथ समूह विजेता भयो । २ मा जित र १ मा हार बेहोरेको ग्यालेक्सी ४ अंकसहित समूह उपविजेता बन्यो ।
काठमाडौं — अक्षरा र ग्यालेक्सी पब्लिक प्रथम मातृभूमि अन्तरविद्यालय यू–१४ टी–१० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने दुवै टोलीको टुंगो लागेको छ । शतप्रतिशत जित निकालेको अक्षरा ६ अंकसाथ समूह विजेता भयो । २ मा जित र १ मा हार बेहोरेको ग्यालेक्सी ४ अंकसहित समूह उपविजेता बन्यो ।
कागेश्वरी मनोहरा नगरपालिकास्थित वान डे क्रिकेट एकेडेमीमा भएको खेलमा अक्षराले ग्यालेक्सीलाई ४७ रन, आयोजक मातृभूमि स्कुललाई २५ रन र सहारा राष्ट्रिय विद्यालयलाई ९ विकेटले पराजित गर्यो । ग्यालेक्सीले मातृभूमिलाई ९ विकेट र सहारालाई ३८ रनले हरायो । सान्त्वना जित पाएको मातृभूमिले सहारालाई ४३ रनले हरायो ।
शुक्रबार समूह ‘ए’ को सबै लिग खेल हुनेछ । विनायक र जनप्रेमी, ग्लोबल र जनप्रेमी, विनायक र ग्लोबल, जनप्रेमी र जेम्स, जेम्स र ग्लोबल तथा जेम्स र विनायकबीच खेल समाप्तिसँगै सेमिफाइनल समीकरण तयार हुनेछ ।
प्रतियोगितामा ८ छात्र टिम सहभागी छन् । विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याटरलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफी प्रदान गरिनेछ ।
