साई ग्लोबल कप : नेपथ्य र न्यु होराइजन फाइनलमा

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबार भएको सेमिफाइनल स्पर्धामा नेपथ्यले बुटवल कालिका क्याम्पसलाई ३ विकेटले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो भने न्यु होराइजनले प्यारामाउण्टलाई ८ विकेटले पराजित गर्दै फाइन यात्रा तय गरेको हो ।

फाल्गुन १३, २०८२

कान्तिपुर संवाददाता

SAI Global Cup: Nepathya and New Horizons in the finals

What you should know

भैरहवा — यहाँ सञ्चालन भइरहेको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेटअन्तर्गत नेपथ्य कलेज र न्यु होराइजन कलेजबीच उपाधि भिडन्त तय भएको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबार भएको सेमिफाइनल स्पर्धामा नेपथ्यले बुटवल कालिका क्याम्पसलाई ३ विकेटले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो भने न्यु होराइजनले प्यारामाउण्टलाई ८ विकेटले पराजित गर्दै फाइन यात्रा  तय गरेको हो । 

पहिलो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल कालिकाले ८ विकेट गुमाएर ९९ रन बनायो । उसका लागि सन्देश थापाले २१, राज खनालले १६, विशाल भुसालले १५ र रोहित पासवानले १४ रन बनाए । बलिङमा नेपथ्य कलेजका सन्दीप यादव र गणेश धितालले २–२ तथा रोशन बस्याल, प्रवीण ढकाल र आरिफ अहमदले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको नेपथ्यले ७ विकेट गुमाएर एक सय रन बनाउँदै जित हात पार्यो । उसको जितमा प्रतीक भट्टराईले ३५, सन्दीप यादवले ३४ र लक्ष्मण कुमालले १० रनको योगदान गरे । बलिङमा बुटवल कालिकाका विशाल भुसालले ३ र विपिन भट्टराईले १ विकेट लिए । खेलमा सन्दीप यादव प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै, दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको प्यारामाउण्टले निर्धारित खेलमा सबै विकेट गुमाएर ९९ रन बनायो । उसका लागि सन्देश पन्थीले २९, देव खनाल र सागर भण्डारीले समान १६–१६ तथा तुलबहादुर थापाले १२ रन बनाए । बलिङमा न्यु होराइजनका महेश भर, विप्रसन केसी र अमर मिश्राले २–२ तथा शुभम खनालले १ विकेट हात पारे ।

प्रत्युत्तरमा न्यु होराइजनले १५ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय २ रन बनाउँदै जित निकाल्यो । उसको जितमा संगम पाण्डेले अविजित ३३, प्रिन्स पालले २९ र अमर मिश्राले १९ रन जोडे । बलिङमा प्यारामाउण्टमा आशुतोष पाण्डेले २ विकेट लिए । खेलमा अमर मिश्रा प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully