पिंक केयरएथन फागुन ३० मा

जावलाखेल युथ क्लबको मैदानबाट सुरु हुने पिंक केयरएथनमा झन्डै ३ हजार सहभागी हुने लेजर पोर्टका प्रमुख नमराज जोशीको विश्वास छ ।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

Pink Care Athan on Falgun 30

What you should know

काठमाडौँ — काठमाडौं पिंक केयरएथन फागुन ३० गते हुने भएको छ । महिलाको स्वास्थ्य, फिटनेस र आत्म–सचेतनामा अभिवृद्धि गर्ने उद्देश्यले लेजर पोर्ट नेपालले सन् २०१७ देखि काठमाडौं पिंकाथनको नामबाट सुरु गरेको दौड प्रतियोगिताको यो छैटौं संस्करण हो ।  

लगातार तीन पटक आयोजना भएको यो प्रतियोगिता कोभिडपछि भने रोकिएको थियो । २०२४ र २०२५ पुनः प्रतियोगिता आयोजना भयो । जावलाखेल युथ क्लबको मैदानबाट सुरु हुने पिंक केयरएथनमा झन्डै ३ हजार सहभागी हुने लेजर पोर्टका प्रमुख नमराज जोशीको विश्वास छ ।   

व्यावसायिकतर्फ २१ किलोमिटर (हाफ म्याराथन) र १० किलोमिटरमा दौड हुनेछ । हाफ म्याराथनको शीर्ष तीन स्थानमा रहनेले ५१, ३१ र २१ हजार तथा १० किमितर्फ शीर्ष तीनका विजेताले क्रमशः ३१, २१ र ११ हजार रुपैयाँ पुरस्कार पाउने छन् । ३ र ५ किमि दौडमा टपटेनलाई विशेष पुरस्कार दिने र यसमा गैरव्यावसायीक खेलाडीले मात्र खेल्न पाउने जोशीले बताए । 

महिलालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्यसहित आयोजना गरिने पिंक केयरएथनमा यसपालि कीर्तिमानी सहभागिता रहने आशा प्रमुख जोशीको छ । ‘महिलाले घर परिवारबाहेक आफ्नो स्वास्थ्यप्रति पनि ध्यान दिनुपर्ने हुन्छ, त्यसैले उनीहरूको सचेतनाका लागि पिंक केयरएथन गर्दै आएका छौं,’ जोशीले भने, ‘हरेक वर्ष आयोजनाका क्रममा चुनौतीहरू थपिएका छन् । तर यसले दिने सन्देश ठूलो छ, त्यसैले हामीले यसलाई निरन्तरता दिँदै आएका छौं ।’

नेपाल क्यान्सर अस्पतालका संस्थापक प्रमुख सुदीप श्रेष्ठले क्यान्सरसहितका रोग लागे पनि त्यसलाई लुकाउँदा फैलिएर मृत्युको मुखमा पुग्ने गरेको अवस्थामा सचेतना अभिवृद्धि गर्ने यस्ता इभेन्टले समयमै रोग पत्ता लगाउन सहयोग पुग्ने बताइन् । उनले अहिले समाजमा सन्देश दिनु महत्त्वपूर्ण भएको बताए । 

ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले महिलाले आफ्नो मात्र नभई घरपरिवारका लागि भए पनि अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्ने र दौड प्रमुख माध्यम रहने बताइन् । उनी दोस्रो संस्करणकी विजेता पनि हुन् । पिंक केयरएथनकी गुडविल एम्बासडर उषा रजकले दौडका साथै ठूलो सन्देश बोकेकाले यस इभेन्टमा सहभागी हुन आह्वान गरिन् । 

आइवार्ट नेपालकी अध्यक्ष इच्छा गुरुङले पिंक केयरएथन केवल दौडमात्र नभई महिलाका लागि जोस प्रदान गर्ने इभेन्ट भएको जनाइन् । उनले पिंक केयरएथनमा दौडबाहेक जुम्बा, स्वास्थ्यसम्बन्धी थप गतिविधि पनि हुने जनाइन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully