विजेता टोलीले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्यो ।
काठमाडौँ — डीएभी कलेजको आयोजनामा भएको चौथो बीसीए कप पुरुष अन्तर–कलेज फुटसल प्रतियोगितामा नागार्जुन कलेज अफ आईटी विजेता च्याम्पियन भएको छ ।
विजेता टोलीले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्यो । पास्कल नेसनल कलेज उपविजेता भएर ७५ हजार पुरस्कार पाउन सफल भयो । व्यक्तिगततर्फ नागार्जुन कलेजका ऋषभ श्रेष्ठ उत्कृष्ट गोलरक्षक भए भने श्रेयन श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट खेलाडीको उपाधि पास्कल नेसनलका आवास योञ्जनले पाए ।
दुई दिने प्रतियोगितामा विभिन्न कलेजका २८ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिता व्हिजी डेभियन्स र कोग्निटो आईटी क्लबको संयोजनमा प्रतियोगिता भएको हो ।
कार्यक्रमको अध्यक्षता डीएभी कलेजका अध्यक्ष अनिल केडियाले गरेका थिए । कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी विकेश कुथुले विजेतालाई पुरस्कृत गरे ।
फुटबलर विकेश र अध्यक्ष केडियाले आईटी विषय अध्ययन गर्ने विद्यार्थीका लागि खेलकुद महत्त्वपूर्ण रहेको चर्चा गरेका थिए । प्रविधिसँग बढी समय बिताउने विद्यार्थीका लागि शारीरिक गतिविधि आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
डीएभी बीएससी/बीसीएका एकेडेमिक हेड शशिभूषण चतुर्वेदीका अनुसार प्रतियोगिताको उद्देश्य विभिन्न बीसीए कलेजबीच मित्रता, सहकार्य र समन्वय अभिवृद्धि गर्नु हो । प्रतियोगिताको समन्वय बीसीए प्रोग्राम हेड सुदीप अधिकारीले गरेका थिए ।
