प्रतियाेगिताका विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
काठमाडौं — मातृभूमि स्कुलले यू-१४ उमेर समूहको प्रथम मातृभूमि अन्तरविद्यालय टी-१० क्रिकेट प्रतियोगिता गर्ने भएको छ । बिहीबार सुरु हुने प्रतियोगितामा बुधबार उद्घाटन र ट्रफी सार्वजनिक गरिने आयोजक समितिका जयराम अधिकारीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहनेछ । सहभागीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने प्राविधिक प्रमुख रवीन्द्र गुप्ताले जानकारी गराए । समूहमा शीर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् ।
विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याटरलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफी प्रदान गरिनेछ ।
मातृभूमिकी प्रिन्सिपल प्रकृति केसी पन्तले उमेर समूहका खेलाडीलाई प्रतिभा प्रदर्शनको अवसर दिने उद्देश्यले प्रतियोगिता गरिएको बताइन् । उनले उदीयमान खेलाडीलाई प्रेरित गर्ने अर्को उद्देश्य रहेको बताउँदै आगामी दिनमा टिम उपलब्ध भए छात्राको विधा पनि थप्ने प्रतिबद्धता जनाइन् ।
तीनदिने प्रतियोगिताका खेल कागेश्वरी मनोहरा नगरपालिकास्थित वान डे क्रिकेट एकेडेमीमा खेलाइने छ ।
