महिलालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्यसहित सञ्चालन हुने उक्त दौड प्रतियोगितामा जुनसुकै उमेर समूहका महिलाले सहभागिता जनाउन सक्ने आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले जानकारी दिए ।
What you should know
ललितपुर — महिलाहरूको स्वास्थ्य, ‘फिटनेस’ तथा आत्मसचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित यही ३० फागुनमा ‘काठमाडौं पिंक केयरएथन’ आयोजना हुने भएको छ ।
महिलालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्यसहित सञ्चालन हुने उक्त दौड प्रतियोगितामा जुनसुकै उमेर समूहका महिलाले सहभागिता जनाउन सक्ने आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले जानकारी दिए । आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जोशीले प्रतियोगिताले घरायसी काम र दैनिक जिम्मेवारीमा व्यस्त रहने महिलालाई आफ्नै स्वास्थ्यका लागि समय निकाल्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । 'महिलाहरू परिवार र समाजका लागि निरन्तर खटिरहन्छन् तर आफ्नो स्वास्थ्यप्रति सचेत हुन समय निकाल्न सकिरहेका हुँदैनन् । पिंक केयरएथनले उहाँहरूलाई आफ्नै लागि पनि समय दिन उत्प्रेरित गर्ने विश्वास लिएका छौँ,' उनले भने ।
दौड प्रतियोगितासँगै जुम्बा, सङ्गीत कार्यक्रम तथा विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधि समावेश गरिने आयोजक संस्थाले जनाएको छ । वरिष्ठ मेडिकल अन्कोलोजिस्ट डा. सुदीप श्रेष्ठले स्तन क्यान्सरको समयमै परीक्षण र उपचारको महत्त्वबारे प्रकाश पार्दै प्रतियोगिताले सचेतना फैलाउन सहयोग पुग्ने धारणा व्यक्त गरे । उनले भने, 'आजको दिनमा स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पत्ता लागे उपचारपछि पूर्ण रूपमा निको हुनसक्छ, तर व्यस्तता र डरका कारण धेरै महिला ढिलो गरी अस्पतालसम्म आइपुग्छन् । यसले समस्या हुन्छ ।'
सन् २०१७ देखि २०१९ सम्म निरन्तर आयोजना गरिएको कार्यक्रम कोभिड-१९ महामारीपछि रोकिएको थियो । सन् २०२४ बाट पुनः सञ्चालन हुँदै आएको छ । जाउलाखेलस्थित खेलमैदानमा बिहान ६ :०० बजे सुरु हुने कार्यक्रममा पाँचदेखि २१ किलोमिटरसम्मका दूरीका दौड प्रतियोगिता सञ्चालन गरिने छ ।
