भलिबलकी उषालाई रामपुरमा सम्मान

रामपुर नगरपालिका र नगर खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारीलाई सम्मान गरेको हो ।

फाल्गुन ११, २०८२

माधव अर्याल

Volleyball player Usha honored in Rampur

What you should know

पाल्पा — राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारीलाई पाल्पाको रामपुरमा सम्मान गरिएको छ ।

रामपुर नगरपालिका र नगर खेलकुद विकास समितिले उषालाई सम्मान गरेको हो । उनलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, नगर खेलकुद विकास समितका अध्यक्ष कमल सेनलगायतले सम्मान प्रदान गरे ।

उषाले छिमेकी जिल्ला तनहुँमा जन्मिए पनि आफ्नो पाल्पासँग पारिवारिक सम्बन्ध भएको बताइन् । ‘यो सम्मानप्रति आभारी छु,’ उनले भनिन्, ‘खेलाडीको रूपमा सम्मानित हुन पाउँदा अझ धेरै खुसी लागेको छ ।’ उनले रामपुरको मैदानमा आएर खेल्न इच्छुक रहेको बताइन् ।

तनहुँ भिमाद–१ की उषाले भलिबल खेल्न थालेको १२ वर्षको उमेरदेखि नै हो । २०७४ सालमा नेपाल पुलिस स्कुलमा भर्ना भएपछि भलिबल यात्राले औपचारिक गति लिएको थियो । पुलिस स्कुलमा पुगेको ६ महिनापछि उनले नेपाल पुलिस क्लबमा प्रशिक्षणको अवसर पाएकी थिए । उषा अलराउन्डर पोजिसनबाट खेल्थिन् । पुलिसमा अनुभवी खेलाडीसँग खेल्दा आफूले धेरै सिक्ने अवसर पाएको अनुभव सुनाइन् । जसलाई उनले भरपुर सदुपयोग गर्दै आफ्नो प्रदर्शन सुधार गरेकी थिइन् ।

उषाले १४ वर्षमै राष्ट्रिय टिमबाट डेब्यु गरेकी हुन् । उनले २०७६ मंसिरमा काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) बाट राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।

उषालाई सम्मान गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले खेलाडीहरु देशको गौरव र पहिचान भएको बताउँदै उनीहरूले राज्यले सेवासुविधा दिन नसक्नु दुःखद रहेको बताए ।

नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले रामपुरमा हुने विभिन्न खेलकुद र सहभागी राष्ट्रिय स्तरका खेलाडीको आगमनले नयाँ खेलाडीलाई प्रेरणा प्रदान गरेको बताए । ‘रामपुर नगरपालिकाले खेलकुद र यसको पूर्वाधार निर्माणमा उदहारणीय काम गरेको छ,’ उनले भने, ‘खेलकुदको विकासका लागि नीतिगत व्यवस्था गरेर अगाडि बढ्नुपर्नेछ ।’

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully