तेक्वान्दोप्रतिको गहिरो प्रेम भएकै कारण उनले कलिलै उमेरमा दुई दर्जनभन्दा धेरै अन्तरदेशीय प्रतियोगिताहरू उत्कृष्ट प्रदर्शन गरेर तीनै किसिमका पदक जितेका छन् । स्वर्ण, रजत र कांस्य पदक उनको गलामा पहिरिएको छ ।
What you should know
डोल्पा — हिमाली जिल्ला डोल्पाको ठुलीभेरी नगरपालिका–५ मा जन्मिएका विमल रोकायको खेलप्रतिको लगाव लोभलाग्दो छ । उमेरले २९ वर्षमात्र पुगेका उनी तेक्वान्दोका राष्ट्रिय खेलाडी र प्रशिक्षक पनि हुन् ।
तेक्वान्दोप्रतिको गहिरो प्रेम भएकै कारण उनले कलिलै उमेरमा दुई दर्जनभन्दा धेरै अन्तरदेशीय प्रतियोगिताहरू उत्कृष्ट प्रदर्शन गरेर तीनै किसिमका पदक जितेका छन् । स्वर्ण, रजत र कांस्य पदक उनको गलामा पहिरिएको छ ।
डोल्पा जस्तो दुर्गम ठाउँमा हुर्किएका विमलले हात्तीवनमा खेलकुद एकेडेमी नै सञ्चालन गरेका छन् । उनका दाइ सुवर्ण रोकाय बक्सिङका खेलाडी हुन् । दाइकै प्रेरणाले आफू खेलकुद क्षेत्रमा लागेको विमल बताउँछन् । स्कुले जीवनमा करातेको प्रशिक्षण लिएका उनको सानैदेखि खेलाडी बन्ने दृढ इच्छाशक्ति थियो । त्यही भएर पनि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएपछि पढाइसँगै तेक्वान्दो सिक्नमा समय दिन थाले ।
‘मेरो खेलकुदप्रतिको माया सानैदेखि थियो । काठमाडौं आएपछि मैले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको डोजाङमा तेक्वान्दो सिक्न सुरु गरेको हुँ,’ विमलले सुनाए । ‘थप प्रशिक्षण ललितपुरमा पनि लिएँ । मेरो लगावकै कारण कम उमेरमै दुई दर्जनभन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाएको छु,’ उनी भन्छन्, ‘भारत, थाइल्याण्ड, बंगलादेश, हङकङ, जापान, मलेसियालगायतका देशमा उत्कृष्ट प्रदर्शन गरेर स्वर्ण, रजत र कांस्य पदक जितिसकेको छु । यो मेरा लागि ठूलो अवसर र सफलता हो ।’
सन् २०१५ मा ललितपुरमा भएको मार्सल आटर््स प्रतियोगितामा उत्कृष्ट भएर स्वर्ण जितेका थिए । उनले सन् २०१९ मा थाइल्यान्डमा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा कांस्य र सन् २०२३ मा हङकङमा भएको २७ औं एसियन सिटिज तेक्वान्दोमा रजत जितेका थिए ।
सन् २०२३ मा बंगलादेशमा भएको बंगबन्धु ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप र २०२४ मा भारतमा भएको प्रधानमन्त्री कप तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका उनले २०२५ मा जापानको ओसाकामा सम्पन्न २१ औं वाटा जापान ओपन तेक्वान्दो च्याम्पियनसिपमा उनले रजत जितेका थिए । गत वर्ष नेपालमै भएको कुकिवान कप अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य र मलेसिमा सम्पन्न २१ औं स्पिड तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।
उनले २०२० देखि हात्तीवनमा तेक्वान्दो एकेडेमी सञ्चालन गरेर खेलाडीहरूलाई प्रशिक्षण दिँदै आएका छन् । यो एकेडेमीबाट बर्सेनि तेक्वान्दो खेलाडी उत्पादन भइरहेका छन् । हाइपर्फमेन्स कोर्स पूरा गरेका उनले एकेडेमीसँगै ललितपुरकै माछापुच्छ्रे वर्ल्ड स्कुल र धापाखेलको रेसिडेन्ट स्कुलमा समेत तेक्वान्दो सिकाउँदै आएका छन् ।
लामो समयदेखि तेक्वान्दोमा सक्रिय विमलको अबको लक्ष्य खेलाडी उत्पादन नै रहेको सुनाउँछन् ।तेक्वान्दोप्रति धेरै नै समर्पण राखेका कारण आफ्नो औपचारिक शिक्षा १२ कक्षा अगाडि बढाउन नसकेकोमा उनलाई पीडा छ । नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशबाट छनोट भएर पोखरा पुगेका विमल एक्कासि बिरामी पर्दा प्रतियोगिता खेल्न पाएनन् । कर्णाली प्रदेशमा हुने भनिएको दसौं राष्ट्रिय खेलकुद खेल्ने लक्ष्य बनाएका उनी समयमा प्रतियोगिता नहुँदा निराश छन् । दसौं राष्ट्रिय खेलकुद पटक पटक सर्दै आयोजना नै अनिश्चित बनिरहेको छ ।
