बेंगलुरुको हार्डकोटमा सुरु प्रतियोगितामा सोमबार अभिषेकले भारतीय खेलाडी तरुण कर्रालाई सोझो सेटमा हराएका थिए ।
काठमाडौँ — नेपाली व्यावसाियक टेनिस खेलाडी अभिषेक बास्तोलाले भारतको बेंगलुरुमा हुने युटीआर टेनिस प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।
बेंगलुरुको हार्डकोटमा सुरु प्रतियोगितामा सोमबार अभिषेकले भारतीय खेलाडी तरुण कर्रालाई सोझो सेटमा हराएका थिए । उनले ६–४, ६–२ ले सेट जितेका थिए । पहिलो सेटमा एक समय २–२ को स्थितिबाट अभिषेकले खेलमा अग्रता बनाएर सेट आफ्नो पक्षमा पारे । उनले ५७ मिनेटमा सेट जिते । दोस्रो सेटमा पनि सुरुआती अग्रताका बावजुद अभिषेकले २–२ को स्थितिबाट अग्रता बनाउँदै ४६ मिनेटमा सेट जितेका थिए ।
अब उनले भारतकै नीरज यशपालविरुद्ध मंगलबार खेल्नेछन् ।
युटीआर प्रो टेनिस टुरअन्तर्गत हुने २० हजार अमेरिकी डलर पुरस्कार राशिको प्रतियोगिता अभिषेकका लागि यस सिजनको पहिलो स्पर्धा हो । यसअघि उनले डिसेम्बरमा भियतनाममा पीटीटी फान थिएटमा प्रतिस्पर्धा गरेका थिए । यस टुरमा अभिषेकले झन्डै डेढ दर्जन प्रतियोगिता खेलिसकेका छन् ।
