जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप ट्वान्टी–२० प्रतियोगिताअन्तर्गत आइतबार शान्ति नमुना सेकेन्डरी स्कुल र नेपथ्य कलेज विजयी भएका हुन् ।
What you should know
भैरहवा — यहाँ सञ्चालन भइरहेको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप ट्वान्टी–२० प्रतियोगिताअन्तर्गत आइतबार शान्ति नमुना सेकेन्डरी स्कुल र नेपथ्य कलेज विजयी भएका छन् ।
सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले ८ विकेट गुमाएर ८२ रन बनायो । उसका लागि जयप्रताप यादवले २६ र एजाजुल हकले २३ रन बनाए । बलिङमा शान्ति नमुनाका रोहित भुसाल, सुजन रानाभाट र रौनक श्रीवास्तवले २–२ तथा नितिश ठाकुरले १ विकेट हात पारे ।
प्रत्युत्तरमा शान्ति नमुनाले १५ ओभर १ बलमा ४ विकेट गुमाएर ८५ रन बनाउँदै जित हात पार्यो । उसको जितमा रौनक श्रीवास्तवले २८, नवीन भण्डारीले १८ तथा रुद्रांन्स भण्डारी र सुजन रानाभाटले समान १४–१४ रनको योगदान गरे । बलिङमा साई ग्लोबलका लेख क्षेत्रीले २ तथा ड्रस सोनार र जयप्रताप यादवले १–१ विकेट लिए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपथ्यले ७ विकेट गुमाएर १ सय २२ रन बनायो । उसका लागि सन्दीप यादवले ५१, जसिम खानले २८ र प्रतीक भट्टराईले १० रन बनाए । बलिङमा रूपन्देही लीलारामका कलम मुसलमान र करण यादवले २–२ तथा इजामुन अहम्मद मुसलमानले १ विकेट लिए ।
जवाफमा रूपन्देही लीलाराम १७ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय रनमै समेटियो । लीलारामलाई सस्तैमा रोक्न बलिङमा नेपथ्यका आरिफ खान र सन्दीप यादवले ३–३ तथा गणेश धितालले १ विकेट लिए । लीलारामका हरिकेश मौर्यले ३१ र कलम मुसलमानले २५ रन बनाए । खेलमा सन्दीप यादव प्लेयर अफ द म्याच घोषित भई एक हजार रुपैयाँ पाए ।
फागुन १४ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजको सहभागिता रहेको खेल संयोजक निरजप्रताप खाँणले बताए । प्रतियोगिताको विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
