फाइनल खेलमा बाल्मीकी शिक्षा सदनलाई ५–१ गोल अन्तरले पराजित गर्दै माडीले उपाधि हात पारेको क्लबका सचिव सुमन पौडेलले जानकारी दिए ।
What you should know
चितवन — पीएफसी इमर्जिङ् कप २०८२ को उपाधि माडी माध्यमिक विद्यालयले जितेको छ ।
फाइनल खेलमा बाल्मीकी शिक्षा सदनलाई ५–१ गोल अन्तरले पराजित गर्दै माडीले उपाधि हात पारेको क्लबका सचिव सुमन पौडेलले जानकारी दिए ।
माडीको जितका लागि एबिन बस्यालले र करण बोटले सम्मान दुई–दुई तथा प्रतीक क्षेत्रीले एक गोल गरे । बाल्मीकी शिक्षा सदनका लागि आदित्य लामिछानेले एक गोल फर्काए ।
प्रतियोगिताको विजेता माडी माध्यमिक विद्यालयले १० हजार रुपैयाँ नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री र उपविजेता बाल्मीकी शिक्षा सदनले १० हजार रुपैयाँ नगदसहित १० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
सचिव पौडेलका अनुसार सोमेश्वर माध्यमिक विद्यालय प्रतियोगिताको अनुशासित टिम घोषित भयो । प्रतियोगितामा पाँच गोल गरेका एबिन बस्याल सर्वाधिक गोलकर्ता बने ।
उत्कृष्ट गोलकिपर रितिक शाह, उत्कृष्ट डिफेन्डर अप्सन बोट, उत्कृष्ट स्ट्राइकर करण बोट, उत्कृष्ट मिडफिल्डर अभिषेक घताने तथा सर्वोत्कृष्ट खेलाडी बाल्मीकी शिक्षा सदनका अर्पण पौडेल घोषित भए ।
भरतपुर महानगरपालिका–१४ स्थित सुन्दरबस्ती खेल मैदानमा सम्पन्न प्रतियोगितामा चितवनका १२ विद्यालयको सहभागिता रहेको थियो ।
क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले विगतका प्रतियोगिताले विद्यालयस्तरबाटै नयाँ खेलाडी पहिचान गर्न सहयोग पुगेको बताउँदै प्रतियोगितालाई निरन्तरता दिइएको उल्लेख गरे । 'क्लब स्थापना भएदेखि नै नयाँ खेलाडी उत्पादनका लागि तालिम तथा विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छौँ,' उनले भने, 'शिक्षासँग खेलकुद जोड्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता उपलब्धिमूलक रहँदै आएको छ ।'
यसअघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिमसमेत प्रदान गरेको थियो । सबै संस्करणमा प्रवर्द्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहँदै आएका छन् ।
