काठमाडौं गोर्खाज क्रिकेट एकेडेमीको स्थापनाका लागि सम्झौता

काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरका कार्यकारी निर्देशक वरुण खड्काले एकेडेमी स्थापनाका लागि शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

फाल्गुन ८, २०८२

कान्तिपुर संवाददाता

Agreement signed for the establishment of Kathmandu Gorkha Cricket Academy

काठमाडौँ — काठमाडौं गोर्खाज र थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरले संयुक्त रूपमा काठमाडौं गोर्खाज क्रिकेट एकेडेमीको स्थापना गर्ने भएको छ ।

काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र थन्डरबोल्ट्सका कार्यकारी निर्देशक वरुण खड्काले एकेडेमी स्थापनाका लागि शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एकेडेमीको स्थापनाले नेपाली क्रिकेटको विकास यात्रामा एउटा महत्त्वपूर्ण सहकार्य भएको पनि जनाएको छ । यो सहकार्यले नेपाली क्रिकेटलाई व्यावसायिक रूपमा अगाडि बढ्न मद्दत गर्ने र नेपाली क्रिकेट युवा खेलाडीलाई अवसर र मार्गनिर्देशन पनि प्रदान गर्ने जनाएको छ । एकेडेमीका कम्तीमा दुई खेलाडीलाई काठमाडौं गोर्खाजको एनपीएल टिममा समावेश गरिनेछ ।

सम्झौता अनुसार थन्डरबोल्ट्सले पूर्वाधार, एकडेमी व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी लिनेछ । काठमाडौं गोर्खाजले भने प्रशिक्षक र खेलाडीलाई उच्चस्तरसम्म पुर्‍याउन मद्दत गर्नेछ । एकेडेमी ललितपुरको धापाखेलमा रहेको छ र यो ०८३ को वैशाखबाट खेलाडी भर्नाको प्रक्रिया सुरु गर्नेछ । सम्झौता कार्यक्रममा काठमाडौं गोर्खाजका सीईओ सुरजसिंह ठकुरीले एकेडेमीको उद्देश्य विशेषज्ञ खेलाडी उत्पादन रहेको बताए ।

उनले भने, ‘हाम्रो एकमात्र उद्देश्य नेपाली क्रिकेटमा विकासमा टेवा पुर्‍याउने नै हो । हाम्रो एकेडेमीबाट उत्पादन हुने खेलाडीले नेपालको प्रतिनिधित्व गरेर खेल्छ भने त्यो हाम्रो लागि सबैभन्दा खुसीको अवसर हुनेछ । त्यसैले यस एकेडेमीले उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको छ र त्यसै अनुसार वैज्ञानिक रूपमा कार्यक्रम पनि तय गर्नेछ ।’

कान्तिपुर

Link copied successfully