नमुना सुपरकप अन्तरकलेज क्रिकेट : आयोजक र विश्वआदर्शको विजयी सुरुवात

बिहीबार नै सम्पन्न दोस्रो खेलमा इटहरीको विश्वआदर्श कलेजले सुस्मा गोदावरी कलेजमाथि १० विकेटको फराकिलो जित निकालेको छ ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

Model Super Cup Inter-College Cricket: Organizers and Biswa Adarsh ​​start with a win

What you should know

सुनसरी — नमुना र विश्वआदर्श कलेजले इटहरीमा जारी नमुना सुपर कप अन्तरकलेजस्तरीय ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । 

इटहरीस्थित जनता पार्क क्रिकेट मैदानमा बिहीबार भएको उद्धघाटन खेलमा आयोजकको टिम नमुना कलेजले कोसी सेन्टजेम्स कलेजलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको कोसी निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाएर ६१ रनमा समेटिएको थियो । 

६२ रनको विजयी लक्ष्य पाएको नमुनाले ५ दशमलव २ बलमा केवल १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । खेलको प्लेयर अफ द म्याच नमुनाका सुबित मेहता घोषित भए । ३ ओभर बलिङ गरेका उनले १० रन खर्चिएर ३ विकेट हात पारेका थिए । सोक्रममा उनले १ मेडन ओभर बलिङ गरे । 

बिहीबार नै सम्पन्न दोस्रो खेलमा इटहरीको विश्वआदर्श कलेजले सुस्मा गोदावरी कलेजमाथि १० विकेटको फराकिलो जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको सुस्माले प्रस्तुत गरेको २७ रनको झिनो लक्ष्य विश्वआदर्शले १ दशमलव १ बलमै सहजै भेटायो । उक्त खेलमा विश्वआदर्शका भुपाल लुइँटेल म्यान अफ द म्याच घोषित भए । ४ ओभर बलिङ गर्दा १ मेडनसहित ६ विकेट हात पारेका उनले केवल ५ रन मात्र खर्चिए । 

शुक्रबारको पहिलो खेल महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर र पूर्वाञ्चल इञ्जिनियरिङ कलेज धरानबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल दमकको आस्था कलेज र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच हुने प्रतियोगिता संयोजक गौरव कटुवालले जानकारी दिए । 

कोशी प्रदेशमा क्रिकेट खेलको व्यावसायिक विकास, युवा प्रतिभा पहिचान र कलेजस्तरीय खेलाडीलाई उचित अवसर प्रदान गर्ने उद्देश्यले सुरु भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ८ वटा कलेजका टिमहरुको सहभागिता रहेको छ । 

कोसी प्रिमियर लिग सिजन दुईको च्याम्पियन टोली नमुना कलेजको टिम नमुना ब्लास्टर्सको आयोजनामा सुरु भएको प्रतियोगिता चार दिनसम्म चल्नेछ । प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँ र उपविजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाउनेछ । साथै ‘म्यान अफ द सिरिज’, ‘बेस्ट ब्याट्सम्यान’ र ‘बेस्ट बलर’ लगायत विधामा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ । 

सुनसरी जिल्ला क्रिकेट संघको विशेष सहयोगमा आयोजित प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन जीके स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले प्राविधिक सहयोग उपलब्ध गराएको आयोजकले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully