उपाधि विजेतालाई ७ लाख ५० हजार र उपविजेतालाई ५ लाख नगद पुरस्कार रहेको छ । तीन विधाका उत्कृष्ट खेलाडीले ५ हजारका दरले पुरस्कारसमेत पाउनेछन् ।
What you should know
उदयपुर — उदयपुरको थारुहट रंगशाला गाईघाटमा भएको एन्फा वुमेन्स च्याम्पियनको बिहीबार भएको अन्तिम सेमिफाइनलमा सशस्त्र प्रहरी क्लब (एपीएफ)ले संकटा क्लबलाई ३–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको छ ।
बिहीबारको खेलको १० मिनेटमा एपीएफकी जर्सी नम्बर १९ की रश्मीकुमारी घिसिङले पहिलो गोल गरिन् । त्यस लगत्तै दुई मिनेट जर्सी नम्बर १५ की अनिता केसीले गोल गरिन् ।
पहिलो हाफमा २–० गोलको अग्रतालाई एपीएफले कायम गर्न सफल भयो भने संकटाले जवाफी गोल गर्न सकेन । सेकेन्ड हाफको ४२ मिनेटमा एपीएफकी जर्सी नम्बर १२ की गीता राणाले गोल गरेर टिमलाई ३ गोलको जितमा पुर्याइन् । उनकै गोल खेलको अन्तिम गोल बन्न पुग्यो ।
विदेशी खेलाडीसहितको टिम संकटाले दोस्रो हाफमा एपीएफ माथि केहीबेर दबाब सिर्जना गरेको थियो । खेल राम्रो प्रदर्शन गरेको संकटाले पटकपटक पाएको अवसरलाई गोल गर्न नसक्दा शून्यमै चित्त बुझाउनुपर्यो । आजको खेलको म्यान अफ दि म्याच एपीएफकी जर्सी नम्बर २ की मनमाया दमाई घोषित भइन् ।
फागुन ९ मा हुने फाइनलका लागि एपीएफले क्वाटरफाइनलमा आरएस रिसोर्ट पोखरालाई १९–० को फराकिलो गोल अन्तरले हराएको थियो भने बिहीबार संकटालाई हराएको हो । १–० गोल अन्तरले नेपाल पुलिस क्लबलाई पराजित गरेर फाइनल पुगेको आर्मीले क्वाटरफाइनलमा न्युरोड टिमलाई ६–१ गोल अन्तरले हराएको थियो ।
उपाधि विजेतालाई ७ लाख ५० हजार र उपविजेतालाई ५ लाख नगद पुरस्कार रहेको छ । तीन विधाका उत्कृष्ट खेलाडीले ५ हजारका दरले पुरस्कारसमेत पाउनेछन् ।
जम्मा १० टिम सहभागी मध्ये हालसम्मको खेलबाट आठ टिम बाहिरिएका छन् । गाईघाट फुटबल क्लब, एफ सी रियल, छहारी युथ क्लब, आरएस रिसोर्ट, न्यूरोड टिम, चर्च ब्वाइज, नेपाल पुलिस क्लब र संकटा क्लब बाहिरिएको हो ।
प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा रहेको छ ।
