मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलबाट संकटा क्लबले चर्च ब्वाइज युनाइटेडलाई ४-१ गोलअन्तरले पछि पार्दै सेमिफाइनलमा पुगेको छ ।
What you should know
उदयपुर — उदयपुरको थारुहट रंगशाला गाईघाटमा एन्फा वुमेन्स च्याम्पियनसिपको मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलबाट संकटा क्लबले चर्च ब्वाइज युनाइटेडलाई ४-१ गोलअन्तरले पछि पार्दै सेमिफाइनलमा पुगेको छ ।
खेलको ३९ मिनेटमा संकटाकी जर्सी नम्बर ९ की शुक्रिया मियाले पहिलो गोल गरिन् । त्यसको लगत्तै ४३ मिनेटमा चर्च ब्वाइहजकी जर्सी नम्बर १० की वर्षा ओलीले टिमका लागि पहिलो गोल गरेर बराबरीमा पुर्याइन् । संकटाले पहिलो गोल गर्न एक मिनेटअघि पेनाल्टीको सुनौलो अवसर चर्च ब्वाइजले गुमाउँदा पहिलो हाफमा दुवै टिम बराबरीमा टुंगिए । दोस्रो हाफमा चर्च ब्वाइजले गोल थप्न सकेन । संकटाले भने एकल रूपमा तीन गोल थप्न सफल भयो । ७० मिनेटमा संकटाकी जर्सी नम्बर ७ की विदेशी खेलाडी लुसिया लेलिया जोजे मोजाम्बिकले गोल गरिन् । ८३ औं मिनेटमा उनैले गोल थपिन् । जर्सी नम्बर १० की पूर्णिमा राईले ७५ मिनेटमा गोल गरिन् । उनी नै म्यान अफ दि म्याच घोषित भइन् ।
आजको खेलसँगै क्वाटरफाइनलका सम्पूर्ण खेल सकिएर खेल सेमिफाइनलमा प्रवेश गरेको छ । भोलिको पहिलो सेमिफाइनल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
दर्शकको चाप खेल मैदानमा कमी देखिए पनि आजको खेल अहिलेसम्मकै रोचक बनेको दर्शकहरुको प्रतिक्रिया छ । भोलिबाट थप रोचक र प्रतिस्पर्धी हुने आयोजकको दाबी छ । भोलिबाट दर्शक पनि थपिने आयोजकको अनुमान छ ।
दस टिमले सहभागिता जनाएको प्रतियोगितामा आजसम्मको खेलबाट गाईघाट फुटबल क्लब, एफसी रियल, छहारी युथ क्लब, आर एस रिसोर्ट, न्युरोड टिम र चर्च ब्वाइज गरी ६ टिम बाहिरिएका छन् । मंगलबार जितेको संकटा क्लबले पर्सी सशस्त्र प्रहरी क्लबको सामना गर्नुपर्नेछ ।
आगामी ९ गते फाइनल हुने छ । प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा भइरहेको हो ।
उपाधि विजेतालाई ७ लाख पचास हजार रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । तीन उत्कृष्ट खेलाडीहरु पनि जनही ५० हजार रुपैयँका दरले पुरस्कृत हुने आयोजकले जनाएको छ ।
