एस्ट्रोनिक्स म्योनजेमन्टले नेपाल कबड्डी लिग (एनकेएल)को सिजन २ को ब्रोडकास्टिङ पार्टनरको रूपमा कान्तिपुर म्याक्स टीभी एचडीसँग सम्झौता गरेको हो ।
What you should know
काठमाडौँ — नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन आउँदो जेठ २२ गतेदेखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना हुने भएको छ ।
आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टले एनकेएलको दोस्रो संस्करणको मिति घोषणा गरेको हो । दोस्रो सिजनका लागि ५ सय १२ नेपाली खेलाडी र १५ देशका १ सय बढी विदेशी खेलाडीले नाम दर्ता गरेको जानकारी गराइएको छ । यो संख्या गत वर्षभन्दा दोब्बर हो । यसले दोस्रो सिजन भव्य हुने संकेत गरेको आयोजकको दाबी छ ।
एस्ट्रोनिक्सका प्रमुख अमितकुमार बेगानीले गत वर्ष पहिलो संस्करण कल्पनाभन्दा पनि राम्रो भएको बताउँदै नेपाली कबड्डीमा व्यावसायिकताको सुरुआत हुनुका साथै दोस्रो सिजन अपेक्षाभन्दा झन् राम्रो र उत्कृष्ट ढंगले सञ्चालन हुने जानकारी गराए ।
उनका अनुसार कबड्डी लिगका अनुभवी भारतीय खेलाडीसँगै इरान, दक्षिण कोरिया, पोल्यान्डलगायतका देशका खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेका छन् ।
एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले यसपालि एनकेएल १० करोड बजेटमा सञ्चालन हुने बताए । कार्यक्रममा नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा, महासचिव अरविन्द कुमार झा, र्यापर भियोमा पनि उपस्थित थिए ।
एस्ट्रोनिक्स म्योनजेमन्टले एनकेएल सिजन २ को ब्रोडकास्टिङ पार्टनरको रूपमा कान्तिपुर म्याक्स टीभी एचडीसँग पनि सम्झौता गरेको छ । सम्झौता–पत्रमा एस्ट्रोनिक्सका सीईओ अग्रवाल र कान्तिपुर टेलिभिजनका चिफ मार्केटिङ अफिसर (सीएमओ) अनुपम अधिकारीले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार एनकेएल सिजन २ का खेल कान्तिपुर म्याक्स टीभी एचडीबाट प्रत्यक्ष प्रसारण गरिनेछ । सीएमओ अधिकारीले कबड्डी खेललाई ग्रासरुटसम्म पुर्याउन प्रत्यक्ष प्रसारणले ठूलो मदत मिल्ने बताए ।
पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा काठमाडौंमाथि ४३–४१ को जित रच्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । एस्ट्रोनिक्स म्योनजेमन्ट कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि सुरु गरेको छ ।
