गण्डकी पुरुष, महिला दुवै प्रतियोगितामा विजयी भयो ।
पोखरा — गण्डकी प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा सोमबार दोहोरो जित पारेको छ । गण्डकी पुरुष/महिला दुवैमा विजयी भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा महिलातर्फ गण्डकीले बागमती प्रदेशलाई ४–० गोलले पराजित गर्यो । गण्डकीकी प्लेयर अफ द म्याच अंकिता अधिकारीले २ तथा गीता पुन मगर र सीतामाया बलले १–१ गोल गरेका थिए ।
पुरुषमा गण्डकीले कोशी प्रदेशलाई २–० गोलले हरायो । दुवै गोल प्लेयर अफ द म्याच असिम बहिकले गरे ।
महिलामा मधेश प्रदेशले कोशीलाई १–० गोलले हरायो । प्रीति दासले निर्णायक गोल गरिन् । लक्ष्मीकुमारी दास प्लेयर अफ द म्याच बनिन् ।
नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले उदटन गरे ।
पुरुषमा ६ र महिलामा ५ टिम सहभागी छन् । दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने संघकी सचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् ।
