काठमाडौंस्थित पाकिस्तान दूतावास प्लटमा आयोजना प्रतियोगिताको फाइनलमा बालुवाटारले पाकिस्तान दूतावास टोलीलाई ४ विकेटले पराजित गरेर उपाधि जितेको हो ।
What you should know
काठमाडौँ — बालुवाटार क्रिकेट क्लबले पाकिस्तान–नेपाल मैत्री ट्वान्टी–२० क्रिकेट प्रतियोगिता २०२६ को ११ औं संस्करण जितेको छ ।
काठमाडौंस्थित पाकिस्तान दूतावास प्लटमा आयोजना प्रतियोगिताको फाइनलमा बालुवाटारले पाकिस्तान दूतावास टोलीलाई ४ विकेटले पराजित गरेर उपाधि जितेको हो ।
पहिलो ब्याटिङ गरेको पाकिस्तानी टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो । त्यसमा सर्वोचाले ४३, निश्चलले २३ र क्यान्डीले २१ रन बनाए । बालुवाटारका धिरज, सागर, जीवन र गणेशले समान २ विकेट लिए ।
बालुवाटारले १८.५ ओभरमा ६ विकेट गुमाई १ सय ५२ रन बनाएको थियो । त्यसमा करणले ३५, विशालले ३२ र जमलले २२ रन बनाए । दूतावासका निश्चल र भूपेन्द्रले समान २–२ विकेट लिएका थिए ।
फेब्रुअरी ७ देखि १५ सम्म भएको प्रतियोगितामा पाकिस्तान दूतावास टोलीसहित नेपालका विभिन्न क्लबका १२ टोलीको सहभागिता थियो । सन् २०१४ देखि आयोजना हुँदै आएको यो कार्यक्रम पाकिस्तान र नेपालका युवाको क्रिकेटप्रतिको लगाव र प्रतिभा प्रस्फुटन गर्न वार्षिक रूपमा आयोजना गर्दै आएको पाकिस्तानी दूतावासले जनाएको छ ।
नेपालका लागि पाकिस्तानी राजदूत अबरर एच हासमीलगायतले विजेता टोली, उत्कृष्ट खेलाडीहरूलाई ट्रफी र नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता खेलेका सात नेपाली क्रिकेटरलाई सम्मान गरिएको थियो । उनीहरूले अघिल्ला संस्करणहरूमा भाग लिएका छन् ।
समापन कार्यक्रममा बंगलादेश र चीनका राजदूत, सार्कका महासचिव, मलेसियाका कार्यवाहक राजदूत र अन्य कूटनीति नियोगका व्यक्तित्वको उपस्थिति थियो । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी, पाकिस्तान–नेपाल अल्मुनाइ नेटवर्क, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ, नेपाल–पाकिस्तान युवा परिषद्का पदाधिकारीको उपस्थिति रहेको थियो ।
पाकिस्तानी दूतावासका कन्सुलर इकबाल हैदरले नेपालमा उदीयमान क्रिकेट प्रतिभालाई बढावा दिन प्रतियोगिताको भूमिकाबारे प्रकाश पार्दै ग्रासरुटमा क्रिकेट प्रवर्द्धन गर्न दूतावासको निरन्तर प्रयास रहने जानकारी गराए ।
