सुदूरले आइतबार कोशी प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पाएको कोशी १९.१ ओभरमा ९९ रनमै अलआउट भयो ।
What you should know
गैंडाकोट — गैंडाकोटमा जारी पाँचौं गैंडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा पुगेको छ ।
सुदूरले आइतबार कोशी प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पाएको कोशी १९.१ ओभरमा ९९ रनमै अलआउट भयो । कृतिक कामतले १७ बलमा एक छक्का र एक चौकासहित १९ रन बनाए । गौरव कटवालले २५ बलमा एक छक्का र एक चौकासहित १८, कप्तान शकिब हकले १९ बलमा १६, भूपाल दंगालले १८ बलमा १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कोशीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका कैलाश ऐर, सौर्य श्रेष्ठ र लोकेन्द्र चन्दले २–२ विकेट लिए भने किरण ठगुन्ना र मिनल बोहराको नाममा एक–एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रने बनायो । आशिष तिरुवाले ४७ रन बनाउँदा २८ बलमा ४ छक्का र ३ चौका प्रहार गरे । टेक रावतले २४ बलमा २ छक्का र ३ चौकासहित ३८, कप्तान किरण ठगुन्नाले २४ बलमा २ छक्का र १ चौकासहित अविजित २८ रन बनाए भने लोकेन्द्र चन्दले २५ बलमा ३ चौकासहित २० रनको योगदान दिए ।
कोशी प्रदेशका ज्ञानेन्द्र श्रेष्ठले २, श्रवन किस्कु, रोहन शाह, कृतिक कामतले १–१ विकेट भए । खेलमा सुदूरपश्चिमका आशिष तिरुवा प्लेयर अफ द म्याच घोषित भए ।
फाइनल प्रवेशका लागि सोमबार आयोजक गैंडाकोट मेयर्स ११ र लुम्बिनी प्रदेश भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
जिल्लाकै ठूलो धनराशिको प्रतियोगिता विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
