आहा–रारा गोल्डकप : चर्च ब्वाइजलाई हराउँदै जावलाखेल सेमिफाइनलमा

आइतबार पोखरा रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा जावलाखेल युथ क्लबसँग ३–० ले स्तब्ध हुँदै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ ।

फाल्गुन ३, २०८२

दीपक परियार

Aha-Rara Gold Cup: Jawalakhel defeats Church Boys to reach semifinals

What you should know

पोखरा — शनिबार मात्रै धरानमा बुढासुब्बा गोल्डकपको फाइनल खेलेर पोखरा ओर्लिएको चर्च ब्वाइज युनाइटेडका लागि आहा–रारा पोखरा गोल्डकप सुखद रहेन । थकान र वर्षातका बीच आइतबार पोखरा रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा जावलाखेल युथ क्लबसँग ३–० ले स्तब्ध हुँदै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ ।

यो जितसँगै जावलाखेल जारी २५औं संस्करणको सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । शनिबार धरानमा उपविजेता बनेलगत्तै पोखरा आइपुगेको चर्च ब्वाइजको टोली मैदानमा केही थकित देखिएको थियो । तयारीका लागि समय अभाव भएका कारण निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी खेल सुरु भएको थियो । हल्का वर्षा भइरहेको मौसममा चर्च ब्वाइजले आफ्नो स्वाभाविक लय समात्न सकेन, जसको फाइदा जावलाखेलले भरपूर उठायो ।

Aha-Rara Gold Cup: Jawalakhel defeats Church Boys to reach semifinals

एकपक्षीय जस्तो देखिएको खेलमा जावलाखेलले क्लिन सिट राख्दै प्रभावशाली प्रदर्शन गर्‍यो । खेलको सुरुदेखि नै आक्रामक बनेको जावलाखेलले चर्च ब्वाइजको रक्षापंक्ति र गोलरक्षकको कमजोरीलाई सदुपयोग गर्‍यो । यद्यपि, पहिलो हाफमा दुवै टिमले स्कोर निकाल्न सकेनन् । 

खेलको चर्च ब्वाइजका अनुभवी गोलरक्षक दीप कार्कीको गल्ती जावलाखेलका लागि उपहार साबित भयो । दीपले डाइभ गरेर बल नियन्त्रणमा लिने प्रयास गर्दा हातबाट फुत्किएको बललाई धर्मेन्द्र कुँवरले कुनै गल्ती नगरी जाली चुमाउँदै टोलीलाई सुरुआती अग्रता दिलाए ।

Aha-Rara Gold Cup: Jawalakhel defeats Church Boys to reach semifinalsखेलको ८८औं मिनेटमा जमैकन खेलाडी निकोलस ह्यामिल्टनले उत्कृष्ट व्यक्तिगत कौशल देखाउँदै गोलरक्षक दीपलाई बिट गरेर स्कोर २–० पुर्‍याए । दोस्रो हाफको इन्ज्युरी समयमा सुजन गुरुङले पेनाल्टी एरिया नजिकैबाट प्रहार गरेको बल सिधै जालीमा ठोक्किएपछि जावलाखेलको ३–० को जित निश्चित भयो । मैदानमा प्रभावशाली प्रदर्शन गरेका जावलाखेलका विदेशी खेलाडी निकोलस ह्यामिल्टन प्लेयर अफ द म्याच घोषित भए । उनले ट्रफीसहित नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले टोलीको सामूहिक प्रदर्शन र फिनिसिङमा सुधार आएका कारण चर्च ब्वाइजविरुद्ध उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताए । यसअघि जावलाखेलले प्रि–क्वाटरमा मछिन्द्रलाई हराएको थियो । जावलाखेलले अब प्लानिङ ब्वाइज र उज्वेकिस्तानको आभा फुटबल क्लबबीच हुने क्वाटरफाइनलको विजेतासँग खेल्नेछ । सोमबारको तेस्रो क्वाटरफाइनलमा ६ पल्टको च्याम्पियन मनाङ मर्स्यांदी क्लब र भारतको सिक्किमस्थित थन्डरबोल्ट नर्थ युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully