काठमाडौं ओपन गल्फमा रामे र रविको अग्रता

रोयल नेपाल गल्फ क्लबमा रामेले दोस्रो होलमा एक शट खेर फाल्दा बाँकी आठ होलमा पार बचाए ।

माघ २८, २०८२

कान्तिपुर संवाददाता

Rame and Ravi lead in Kathmandu Open Golf

काठमाडौँ — गल्फरद्वय रामे मगर र रवि खड्काले सूर्य नेपाल काठमाडौं ओपन गल्फको पहिलो दिन संयुक्त अग्रता बनाएका छन् । ३ अन्डर ६५ को स्कोर बनाएका उनीहरूले जयराम श्रेष्ठलाई १ स्ट्रोकले पछि पारेका हुन् ।

जयराम २ अन्डर ६६ सहित तेस्रो स्थानमा रहे । १ अन्डर ६७ को स्कोरमा सञ्जय लामा चौथोमा हुँदा इभन–पार ६८ सहित भुवनकुमार रोक्का, नेपाल नम्बर एक प्रो गल्फर नीरज तामाङ र दिनेश प्रजापतिले संयुक्त पाँचौं स्थान ओगटेका छन् । १ ओभर ६९ को स्कोर बनाएका भुवन नगरकोटी, एमेच्योर गल्फरद्वय राहुल विश्वकर्मा र महेन्द्र फगामीले आठौं स्थान लिए । 

रोयल नेपाल गल्फ क्लबमा रामेले दोस्रो होलमा एक शट खेर फाल्दा बाँकी आठ होलमा पार बचाए । फ्रन्टनाइन १ ओभर ३५ खेले । यसपछि ब्याकनाइन बोगीरहित खेल्दै चार होलमा बर्डीको सफलता प्राप्त गरे । उनले १०, ११, १३ र १८ औं होलमा बर्डी प्रहार गर्दा ब्याकनाइन ४ अन्डर ३० मा सके । रविले बोगीरहित स्कोर कार्ड बनाउने क्रममा फ्रन्टनाइन २ अन्डर ३२ र ब्याकनाइन १अन्डर ३३ खेले । उनले पहिलो, नवौं र दसौं होलमा बर्डी प्रहार गर्दा बाँकी १५ होलमा पार जोगाए ।

जयरामले फ्रन्टनाइन इभन–पार ३४ मा सके । उनले चौथो, आठौं र नवौं होलमा बर्डी प्रहार गर्दा तेस्रो, पाँचौं र छैटौं होलमा एक–एक शट खेर फाले । उनी ब्याकनाइनमा सम्हालिए । १० औं होलमा बोगी खेपे पनि १२, १३ र १६ औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २ अन्डर ३२ मा पूरा गरे ।

एमेच्योरतर्फ राहुल र महेन्द्र १ ओभर ६९ सहित संयुक्त शीर्षस्थानमा छन् । राहुलले फ्रन्टनाइनमा १ ओभर ३५ र ब्याक नाइनमा इभन पार ३४ खेले । महेन्द्रले भने फ्रन्टनाइनमा ४ अन्डर ३० को उत्कृष्ट प्रदर्शन गरे । तर ब्याक नाइन भने ५ ओभर ४९ मा सके । प्रतियोगितामा ३४ व्यावसायिक र २१ एमेच्योर गल्फरले सहभागिता जनाएका छन् ।

कान्तिपुर

Link copied successfully