चार दिने ७२ होलको प्रतियोगितामा ३४ व्यावसायिक खेलाडी र २१ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौँ — सूर्य नेपाल काठमाडौं ओपन गल्फ मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुनेछ । चार दिने ७२ होलको प्रतियोगितामा ३४ व्यावसायिक खेलाडी र २१ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।
३६ होलको खेलपछि कट हुनेछ । शीर्ष १८ प्रो र एमेच्योर खेलाडीले अन्तिम दुई दिनका लागि स्थान सुरक्षित गर्नेछन् ।
यो प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन कोर्सलाई चुनौतीपूर्ण बनाइएको छ । खेलाडीले अभ्यास राउन्डबाट कोर्सको अवस्था बुझिसकेका छन् ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत यस चौथो प्रतियोगितामा कुल ८ लाख ७५ हजार रुपैयाँ पुरस्कार राशि रहेको छ ।
विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख ५ हजार र तेस्रोले ८५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । चौथोले ७१ हजार र पाँचौं हुनेले ६३ हजार प्राप्त गर्नेछन् ।
शीर्ष १८ स्थानसम्मका खेलाडीले पुरस्कार प्राप्त गर्नेछन् । नम्बर एक गल्फर नीरज तामाङ, भुवन नगरकोटी, जयराम श्रेष्ठ, रवि खड्का र दिनेश प्रजापति प्रमुख दाबेदारमा रहनेछन् । उनीहरूलाई सिजनको पहिलो स्पर्धा जितेका एमेच्योर गल्फर राहुल विश्वकर्माले चुनौती दिनेछन् ।
नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपीजीए) ले सूर्य नेपाल प्रालिको प्रायोजनमा सूर्य नेपाल गल्फ टुर २०२५–२६ सञ्चालन गरिरहेको हो ।
