दोस्रो जितपछि पाकिस्तान बलियो

समूह ए को कोलम्बोमा भएको खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरेको हो ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Pakistan strengthened after second win

मुम्बई — पाकिस्तानले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा मंगलबार लगातार दोस्रो जित निकालेर सुपर एट प्रवेशका लागि आफूलाई बलियो प्रत्यासी बनाएको छ ।

समूह ए को कोलम्बोमा भएको खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरेको हो । यो जितसँगै पाकिस्तानले सन् २०२४ को पछिल्लो विश्वकपमा अमेरिकाविरुद्ध सुपर ओभरमा बेहोरेको हारको बदला पनि लिएको छ ।

जितका लागि १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटमा १ सय ५८ रन मात्र बनाउन सक्यो । अमेरिकाको यो लगातार दोस्रो हार हो । 

अमेरिकाका लागि एन्ड्रिस गुस र सयन जहागिरले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे पनि टिमले त्यसको फाइदा लिन सकेन । जहागिरले ३४ बलमा ४९ रन जोडे । खेलको अन्त्यतिर शुभम कृष्णमूर्तिले आफ्नो अर्धशतक पूरा गर्ने क्रममा ५१ रन बनाए ।

पाकिस्तानी बलरमध्ये उमन तारिकले तीन तथा सादब खानले दुई विकेट लिए । त्यस अगाडि पाकिस्तानले पहिले ब्याटिङ गर्दै नौ विकेटमा १ सय ९० रन बनाएको थियो । त्यसमा साहेबजादा फरहानको ७३ रन र बाबर आजमको ४६ रनको सबैभन्दा ठूलो अंश रह्यो । फरहानले ४१ बलको मात्र सामना गरे र ६ चौका र ५ छक्का प्रहार गरे । 

अन्त्यतिर सादबले ३० रन जोडे । अमेरिकी बलरमध्ये स्याड्ली भानले २५ रनमा ४ विकेट लिए ।

कान्तिपुर संवाददाता

Link copied successfully