सम्मानित हुने खेलाडीमा अर्जुन कुलुङ राई, सुनसरी रोकाय, पदमकुमारी सुनुवार, सुनमाया बुढा, राममाया बुढा, मनकुमार मगर, सुमन कुलुङ राई, गोपाल तामाङ र लाक्पा निग्मा शेर्पा रहेका छन् ।
काठमाडौँ — नेपाल एडभेन्चर रनिङ महासंघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अल्ट्रा/ट्रेल रेसमा पदक जितेका खेलाडीलाई सम्मान गरेको छ । होटल रोयल सिंगीमा सोमबार भएको महासंघको वार्षिक साधारणसभाका अवसरमा खेलाडीलाई सम्मान गरिएको हो ।
सम्मानित हुने खेलाडीमा अर्जुन कुलुङ राई, सुनसरी रोकाय, पदमकुमारी सुनुवार, सुनमाया बुढा, राममाया बुढा, मनकुमार मगर, सुमन कुलुङ राई, गोपाल तामाङ र लाक्पा निग्मा शेर्पा रहेका छन् ।
सोही अवसरमा एभरेस्ट म्याराथनमार्फत गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल एवं प्रतिभावान खेलाडी उत्पादनमा सक्रिय पूर्वओलम्पियन हरिबहादुर रोकायलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो । संस्थातर्फ हिमालयन एक्सट्राइ प्रालि र हिमालयन रनिङ क्लब, ललितपुर सम्मानित भएको थियो ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले सम्मान प्रदान गरे ।
साधारणसभाले वार्षिक प्रतिवेदन पारित गरेको महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् । विभिन्न घरेलु प्रतियोगिता आयोजना गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको छ । साधारणसभाले आगामी वर्षका लागि १ करोड १० लाख बजेट पारित गरेको अध्यक्ष कुँवरले बताए ।
