बीसीसीआईका अनुसार 'ए' श्रेणीमा शुभमन गिल, जसप्रीत बुमराह र रवीन्द्र जडेजा मात्र रहेका छन् ।
काठमाडौँ — भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बीसीसीआई) ले २०२५/२६ का लागि खेलाडीहरूको वार्षिक अनुबन्ध श्रेणी घोषणा गरेको छ । बीसीआईले सोमबार सार्वजनिक गरेको सूचीअनुसार पूर्वभारतीय कप्तान रोहित शर्मा र विराट कोहलीको घटुवा भएको छ ।
यसअघि 'ए' श्रेणीमा रहेका शर्मा र कोहलीलाई 'बी' श्रेणीमा राखिएको छ । बीसीसीआईका अनुसार 'ए' श्रेणीमा शुभमन गिल, जसप्रीत बुमराह र रवीन्द्र जडेजा मात्र रहेका छन् ।
बीसीसीआईले क्रिकेटका तीनवटै फर्म्याटमा रहेका खेलाडीलाई 'ए' श्रेणीमा राख्ने गरेको छ । कोहली र शर्माले भने ट्वान्टी-२० बाट अन्तर्राष्ट्रियबाट सन्न्यास लिइसकेका छन् ।

'बी' श्रेणीमा शर्मा र कोहलीसँगै ११ खेलाडी रहेका छन् । त्यस्तै सी श्रेणीमा १६ खेलाडी रहेका छन् । बीसीसीआईले महिला खेलाडीहरूको पनि 'सेन्ट्रल कन्ट्रयाक्ट' सार्वजनिक गरेको छ ।
महिला खेलाडीतर्फ 'ए' श्रेणीमा हरमनप्रीत कौर, स्मृति मंधाना, जेमिमा रोड्रिग्स र दीप्ति शर्मालाई राखिएको छ । बीसीसीआईले २०२५/२६ का लागि ३० पुरुष र २१ महिला खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा समावेश गरिएको छ ।
